काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेंगी रोगको संक्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेंगी संक्रमण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ । साउनदेखि कात्तिकसम्म डेंगी संक्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु गरिसकेका छन् ।
गत वर्ष डेंगी संक्रमणको ‘हटस्पट’ बनेको गण्डकी प्रदेश राजधानी पोखरामा पनि समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन् । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरको लेखनाथ क्षेत्रमा फाट्टफुट्ट डेंगी संक्रमण देखिन सुरु भएको बताए । “डेंगी संक्रमणको उच्च जोखिम रहने समय नजिक आइरहेकाले रोकथामका उपायबारे समुदायमा अभिमुखीकरणको काम गरिएको छ”, उनले भने,“हाल कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्य स्वयम्सेवीकालगायतलाई डेंगी संक्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको छ ।”
जनस्वास्थ्य निरीक्षक रेग्मीले डेंगी परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिरहेको बताए ।
गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेंगी संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । त्यसबेला प्रदेश स्वास्थ्य मन्त्रालयले पोखरा डेंगी संक्रमणको ‘हटस्पट’ बनेको उल्लेख गरेको थियो । गत वर्ष भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा यहाँ छ गुणाले डेंगी संक्रमण बढेको थियो । महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गर्दै आए पनि डेंगी रोकथाम चुनौतीपूर्ण बन्दै गएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । “हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेंगी रोकथाम र नियन्त्रण गर्न कठिन छ । त्यसैले यस वर्ष सबैलाई सचेत रहन आग्रह गरिरहेका छौँ”, उनले भने ।
डेंगी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्न पनि आग्रह गरिएको छ । डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको जानकारहरूको भनाइ छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय भएको धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख डा किरण तिवारीले बताए ।
उनका अनुसार गत वैशाखयता दुई जना डेंगी संक्रमित उक्त अस्पताल आएका छन् । डेंगी संक्रमितले तुरुन्त परीक्षण गरी आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने डा तिवारीको भनाइ छ । डेंगीको संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने उनले बताए । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगीलाई सामान्य रूपमा नलिन अस्पताल प्रमुख डा तिवारीको आग्रह छ ।
“डेंगी संक्रमण हुँदैमा आत्तिहाल्नु पर्दैन र अधिकांश डेंगी संक्रमित सामान्य उपचारपछि निको हुने गरेका छन् । संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुनसक्छ”, प्रमुख डा तिवारीले भने,“डेंगी भएमा आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न हुँदैन । अधिकांश डेंगी संक्रमित सामान्य उपचारपछि निको हुने गरेका छन्। ”, प्रमुख चिकित्सक तिवारीले भने ।गर्भवती र बालबालिकामा डेंगीको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने खतरा हुने हुँदा उच्च सावधानी अपाउन उनको आग्रह छ ।
गत वर्ष कास्की, तनहुँलगायत जिल्ला डेंगी संक्रमणबाट बढी प्रभावित बनेका थिए । असारदेखि कात्तिकसम्म डेंगीको संक्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगीले महामारीको रूप लिनसक्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । जनघनत्व बढी भएका ठाउँमा डेंगी छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । -रासस
प्रतिक्रिया