भारी वर्षाका कारण दाङसहित विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह

बुधबार, २५ असार २०८२, १० : ३९

काठमाण्डौ - यतिबेला पश्चिम नेपालमा भारी वर्षा भैरहेको छ । यसै कारण दाङसहित देशका विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ । गएरातिको वर्षाका कारण पुवी क्षेत्रका नदी र खोलामा पानीको बहाव बढेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी, डुवान र पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी, खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको हो । काठमाण्डौ उपत्यकाको बागमती नदीको खोकना र मनोहरा जलमापन केन्द्रले सतर्कता तह पार गरिसकेको र जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति ठूलो पानी परेको थियो । रातभरिको अविरल वर्षाको कारण विष्णुमतीअन्तर्गतको गोङ्गबु र बागमतीको गौरीघाट क्षेत्रमा पानीको सतह खतराको तह पार गरिसकेको छ । देशभर थप वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको भन्दै डुबान, आकश्मिक बाढी र पहिरोको जोखिम भएका सबै क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । जोखिम भए सुरक्षित ठाउँमा सर्न र नदी किनारमा नजान महाशाखाको अनुरोध छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

बुधबार, २५ असार २०८२, १० : ३९

प्रतिक्रिया