काठमाडौँ - पटक पटक स्थगित भएको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकले रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम पारित गरेको छ ।
उक्त कार्यक्रममा कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरेका छन् । सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त उपकुलपति प्रा.डा.दीपक अर्यालले विश्वविद्यालयलाई विदेशी विद्यार्थीको पनि आकर्षणको केन्द्र बनाउने गरी लाग्नुपर्ने बताएका छन् ।
त्रिवि सभाको उक्त बैठकमा स्ववियु प्रतिनिधिलाइृ सहभागि नगराएकोमा नेविसँघले भने कडा आपत्ति जनाएको छ । सँघका सभापति दुजाङ शेर्पाले त्रिविविरुद्ध चरणबद्ध आन्दोलन गरिने घोषणा गरेका छन् । स्मरण रहोस् त्रिवि ऐनमा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधि सभाको सदस्य हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया