अन्ततः एकीकृत समाजवादीमै जान बामदेव राजी, साउन २ गते एकता गर्दै

शुक्रबार, २७ असार २०८२, १२ : २५

काठमाडौं– लामो समय नेपाली राजनीतिमा आफूलाई अस्थिरताको परिचायक बनाएका नेकपा(एकता अभियान)का संयोजक वामदेव गौतम एकीकृत समाजवादीमा जान तयार भएका छन् । बारम्बार एमाले र एकीकृत समाजवादीसँग एकता गर्ने भन्दै हौसिएका उनलाई दुबै दलले बेवास्ता गरेपछि कतै पनि जान सकेका थिएनन् । 

शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग दुई बुँदे सहमतिमा हस्ताक्षर गर्दै पार्टीमा समाहित हुन तयार भएका हुन् । साउन २ गते राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी गौतमलाई पार्टीमा भित्र्याउन लागिएको एकीकृत समाजवादीले जनाएको छ ।

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित भएपछि गौतम कतै नलागी आफ्नै नेतृत्वमा एकता अभियान गठन गरेर बसेका थिए । त्यसपछि एमाले समेत विभाजित  भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन हुँदा समेत उनले आफ्नै नेतृत्वको एकता अभियान चलाइरहे । त्यस अभियानका अधिकांश एमाले र एकीकृत समाजवादी लगायतका पूर्ववत दलमै फर्किएपछि उनी एक्लिएका थिए । 

पछिल्लो समय एमालेमा जान लालायित उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहकार्य गर्ने भन्दै भित्र्याउन चाहेनन् । यता, एकीकृत समाजवादीसँग पनि वार्तामै रहेका गौतमले एमालेको बेवास्तापछि समाजवादीमै समाहित हुन लागेका हुन् ।

 
 
 
 
शुक्रबार, २७ असार २०८२, १२ : २५

प्रतिक्रिया