इच्छुकप्रति समर्पित गीत ‘सलाम इच्छुक’को परिचर्चा सम्पन्न

आइतबार, २९ असार २०८२, १० : ४२

काठमाडौैं- राज्यद्वारा हत्या गरिएका जनपक्षीय पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित गीत ‘सलाम इच्छुक’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा  साहित्यकार हिरामणी दुखीको सभापतित्वमा परिचर्चा कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा वक्ताहरुले इच्छुकप्रति सर्मपित ‘सलाम इच्छुक’गीतले उनको व्यक्तित्व उजागर गरेको बताएका थिए । महेश्वर दाहालको रचना, रमण थामीको स्वर र केशर कालीकोटेको संगीत रहेको सेनप्रति सर्मपित ‘सलाम इच्छुक’गीत केही दिन अघि सार्वजनिक भएको थियो । 

कवि संगीत श्रोताले गीत उत्कृष्ट रहेको बताउँदै प्रगतिशील साहित्यमा इच्छुकको योगदानलाई गीतले न्याय प्रदान गरेको बताए । गीत निकै कर्णप्रिय रहेको बताउँदै उनले इच्छुकको आर्दशलाई गीतले जिवीत तुल्याएको बताए । 

अर्का साहित्यकार डा. अमर गिरीले गीतमा सेनको आर्दश भाव अभिव्यक्त भएको बताए । साथै, उनले गीतको शब्द, संगीत र अभिनय सबैको संयोजनले गीत निकै उत्कृष्ट बनेको बताउँदै गीत निर्माणमा संलग्न सबै टिमलाई धन्यवाद दिए ।

यस्तै सेनका सहकर्मी समेत रहेका रातोपाटीका संस्थापक ओम शर्माले सेनको आदर्श पार्टी र आन्दोलनले बिर्सिदै गरेकोमा चिन्ता व्यक्त गरे । उनले सलाम इच्छुक गीतमार्फत सेनको व्यक्तित्व उजागर गर्न सफल भएको बताए ।

साहित्यकार डा.जगदिशचन्द्र भण्डारीले गीतले सेनको आदर्शलाई सिर्जनात्मक तवरले प्रष्फुटन गरिएको बताए । उनले गीतमार्फत इच्छुकको बलिदानी र प्रेरणालाई जीवित राख्न सफल भएको बताए ।

गीतका रचनाकार महेश्वर दाहालले सबैको सामूहिक प्रयासबाट गीत निर्माण सम्भव भएको बताए । उनले गीत निर्माणका लागि रचनादेखि गायन र संगीत संयोजनमा सबै टिमको उल्लेख्य भूमिका रहेको बताए ।

कार्यक्रममा गायक थामी, गीतका भिडियो निर्देशक मिराज विक्रम सिंहलगायत कलाकारहरुको पनि उपस्थिति रहेको थियो ।


 

 
 
 
 
आइतबार, २९ असार २०८२, १० : ४२

प्रतिक्रिया