काठमाडौं- सम्पादक समाज नेपालले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि सजग गराउने उद्देश्यले शनिबार पत्रकार पदयात्रा २ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ को गुफाडाँडामा सम्पन्न गरेको छ ।
काठमाडौंबाट करिब ५४ किलोमिटरको दूरीमा रहेको गुफाडाँडा पदयात्रामा विभिन्न सञ्चार माध्यमका १०० जनाभन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो । पदयात्रामा काठमाडौंका अतिरिक्त नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका पत्रकारको उल्लेख्य सहभागिता थियो ।

गत वर्ष नुवाकोटको शिवपुरीमा रहेको लौके झरनामा पदयात्रा गरेको सम्पादक समाजले यो पटक भने सिन्धुपाल्चोकको गुफाडाँडामा कार्यक्रम गरेको हो । गुफाडाँडाको पर्यटकीय महत्व झल्काउने र यहाँ लुकेर बसेका विषयहरु जनमानसमा ल्याउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक सम्पादक समाजका महासचिव श्याम डोटेलले जानकारी दिए । उनले स्थानीय उत्पादन र परिकारलाई आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिए ।
गुफाडाँडा आफैंमा मनोरम प्राकृतिकस्थल हो । यहाँ ०७५ साल पुस १६ र १७ गते जलवायु सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनलाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । यहाँ भएको जलवायु सम्मेलनमा देशका सबै जिल्लाका प्रतिनिधिहरु आएका थिए ।
सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दै आगामी दिनमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षतिका बारेमा सचेत गराई नयाँ कार्यक्रमसहितको रणनिती तयार गर्ने जनाएको थियो । त्यसयता यहाँ धेरै मन्त्री र नेताहरु पुगेका छन् । पछिल्लोपटक बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पनि पुगेका थिए । लामाले यहाँको पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए तर उनले यस पटक एक रुपैंयाँ पनि बजेट विनियोजन गरेका छैनन्। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यसबारेमा गुनासो गर्दै संघ र प्रदेशबाट गुफाडाँडा उपेक्षामा परेको बताए । यस वर्ष नगरपालिकाले २ करोड बजेट छुट्याएको जानकारी दिँदै उनले आगामी दिनमा पालिकाले यसको मुहार फेर्न सक्दो पहल गर्ने बताए ।
स्थानीय क्यौलेठाना आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा मेलम्ची वडानम्बर ९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्व र इतिहास निकै पुरानो भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले यहाँसम्म जाने सडक निर्माण र यहाँ राखिएका ७७ वटै जिल्लाका झण्डालाई व्यवस्थित बनाउन वडाले सोचिरहेको बताए । उनले प्रकृतिले दिएको हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले गुफाडाँडा थप मनमोहक रहेको बताए ।

पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले यहाँको विकास र समृद्धिका लागि पत्रकारका तर्फबाट सदैव साथ रहने प्रतिबद्धता जनाए । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायत काठमाडौंबाट एक सय जनाभन्दा बढी पत्रकारको सहभागिता थियो । पदयात्रामा निस्केका पत्रकारलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितले पनि एक समारोहकाबीच स्वागत तथा सत्कार प्रदान गरेका थिए ।
पत्रकार पदयात्रा २ आयोजना गर्न सहयोग गर्नुहुने शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलम्ची ९ का वडा अध्यक्ष किरणदीप खड्का र शिखर इन्स्योरेन्स कम्पनीलगायतप्रति आयोजक सम्पादक समाजले आभारसहित धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया