ओलीलाई प्रचण्डको प्रश्न- सत्तारूढ दल असन्तुष्ट बनाएर एक वर्षमा कसको विश्वास जित्नुभयो ?

सोमबार, ३० असार २०८२, १४ : ३०

काठमाडौं– संसदमा आज विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार कामले कांग्रेस एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन्।

उनले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न गरे।

प्रचण्डले भने, ‘राज्यको स्रोत र साधन सीमित दलाल पुँजिपति र विचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?’ उनले पचासौं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरु कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मीटरब्याज पीडितको समस्या झन जटिल बन्दै गएको उल्लेख गरे।

उनले सरकारका गतिविधिबाट आम जनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे,‘यो एक वर्षमा तपाईंले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भयो ?’

उनले भने –‘सरकारका गतिविधिले  जनविश्वासको गम्भीर प्रश्न खडा गरेको छ।’

 
 
 
सोमबार, ३० असार २०८२, १४ : ३०

प्रतिक्रिया