काठमाडौं- नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले स्वास्थ्य बीमा बोर्डले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रस्थान विन्दुबाट हटाउँदा बिरामीहरुले दुःख पाएको बताएकी छिन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले बोर्डको निर्णयले बिरामीहरु सेवा लिन टाढा टाढा धाउनुपरेको सभामुखलाई जानकारी गराएकी हुन् । उनले बोर्डले यो निर्णय सच्चाएर पहुँच भएका र पायक पर्ने ठाउँमा स्वास्थ्य बीमाका सेवा लिनसक्ने बनाउनुपर्ने माग राखेकी छिन् ।
सांसद शर्माले संघीय मामिला तथा प्रशासनमन्त्री राजकुमार गुप्तालाई लक्षित गर्दै भनिन्, ‘बहालवाला मन्त्रीले मन्त्रीले घुस खाएको अडियो सार्वजनिक भएपछि राजीनामा दिएको समाचार आएको छ, यतिले मात्र पुग्दैन सोही विषयमा जोडिएका मन्त्रीहरूको पनि छानबिन होस् र सरकारले सख्त कारबाही गरोस्, माग गर्दछु ।’
उनले शिक्षालगायतका विधेयक अबिल्म्ब अगाडि बढाउनुपर्नेमा सरकार उदासिन रहेको र शिक्षकहरु फेरि सडकमा आउनुपर्ने परिस्थिति सृजना भएको बताईन् ।
सिजनको समयमा मल अभावको विषय उठाउँदै सांसद शर्माले कृषकहरु चर्को गर्मीमा लाइन लाग्न बाध्य भएको र खेतीको सिजनमा सीमित भएको मलमा पनि बिचौलिया मार्फत कालोबजारी बढेको बताएकी छिन् ।
यस्तै, सांसद शर्माले सवारी साधनको गति नियन्त्रण नहुँदा दिनदिनै सडक दुर्घटना बढिरहेको बताईन् ।
उनले समस्याहरु दिनानुदिन बढिरहेको बताउँदै जनताले सरकारबाट कस्तो परिवर्तनको आशा गर्ने ? भनेर प्रश्न समेत गरेकी छिन् ।
प्रतिक्रिया