एमालेका एकपछि अर्को मन्त्रीको घुस काण्ड बाहिरिँदै, ओली नेतृत्वको सुशासन आयोगकै उपहास

विहीबार, ०१ साउन २०८२, ११ : ४०

काठमाडौं– सत्तारुढ एमालेबाट सामान्य प्रशासन मन्त्री बनेका राजकुमार गुप्ता घुस काण्डमा मुछिएर राजीनामा दिएको दुई दिन नबित्दै फेरि प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटका एमालेकै अर्का मन्त्रीको घुस काण्ड बाहिरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि बिचौलियासँग ३२ लाख लिएको अडियो सार्वजनिक भएको हो । मन्त्री अधिकारी पनि एमाले पार्टीबाटै मन्त्री बनेका व्यक्ति हुन् । 

पोखराको बाटुलेचौमा रहेको १ सय ३४ रोपनी जग्गा सेटिङ मिलाएर दर्ता गर्न ३२ लाख घुस बुझेको सार्वजनिक अडियोको कुराकानीमा उल्लेख छ । उक्त अडियोमा बिचौलिया सुजन लामासँग मन्त्री क्वाटरमा ३२ लाख घुस लिएको स्पष्टसँग खुलेको छ । बुधबार सार्वजनिक भएको उक्त अडियोमा मन्त्री अधिकारीसहित भूमि सुधार मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र मन्त्रीकै छोरा मनोज अधिकारीको पनि नाम मुछिएको छ । 

यसअघि एमालेकै सामान्य प्रशासन मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिए पनि मन्त्री अधिकारीले भने यसबारे मौन रहेका छन् । आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्रीहरुको एकपछि अर्को घुस काण्ड बाहिरिएपछि सरकारको सुशासनको अभियान नारामै सीमित भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गरेका थिए । तर, सुशासन कायम गर्नुको साटो झनै मन्त्रीहरुकै संलग्नताका अनेकौं घुस काण्ड सार्वजनिक भइरहेको छ । दिनानुदिन मन्त्रीका घुस प्रकरण बाहिरिएपछि ओली नेतृत्वको सुशासन आयोगको औचित्यमाथि समेत प्रश्न उठ्न थालेको छ ।

यो पनि पढ्नुस्

ओली सरकारका विवादित मन्त्री : गुप्ता बिदा भए, अर्का अधिकारी अझै बाँकी

 
 
 
 
 
 
 
 
 
विहीबार, ०१ साउन २०८२, ११ : ४०

प्रतिक्रिया