काठमाडौं - पूर्वराष्ट्रति विद्या भण्डारीले सक्रीय राजनीतिमा फर्किने घोषणा गरेपछि नेकपा (एमाले) मा मात्र होइन राष्ट्रिय राजनीतिमा नै अनेक अडकलबाजीहरु सुरु भएका छन् । यद्यपी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीच करिब डेढ घण्टा लामो ‘वान टु वान’ भेटवार्ता सम्पन्न भएपछि एकथरीले पार्टीमा एकताको सन्देश गएको भनेर पनि प्रचारबाजी गरेका छन् । तर भण्डारीको आत्मविश्वास र प्रस्तुतिले उनी एमालेको नेतृत्वमा जबर्जस्त आउन खोजेको संकेत भने दिइसकेको छ ।
आफ्ना दिवंगत पति मदन भण्डारीको स्मृतिसभामा उनले गरेको भाषणलाई ओली पक्षका कार्यकर्ताहरु भित्रभित्रै चिढिएका थिए । उनले भने पार्टीमा फर्किएको घोषणा गरेकी थिइन । त्यसैदिन उनले आफ्नो सदस्यता नविकरण भएको जानकारी पनि दिएकी थिइन । तर पार्टीको संस्थापन पक्षले भने यो विषयमा फरक मत दिदै आएको थियो । सदस्यता नविकरणलगायतका विषयमा देखिएको मतभेदका बीच दुई नेताबीच ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा गोप्य रुपमा भेटवार्ता भएको हो।
दुई नेताबीच समसामयिक राजनीतिक विषयमा खुलेर छलफल भएको बताइए पनि उनीहरुले भने खास के कुरा भयो भनेर खुलाएका छैनन् । यो सबै अड्कलबाजी मात्र हो । यो भेटलाई केही नेताहरुले रहष्यमय ठानेको पाइन्छ । ओली र विद्याको विगत संझनेहरु उनीहरु जे गर्छन ्मिलेर नै गर्छन् भनिरहेका छन् । दुवैजना पार्टीमा मुख्य नेतृत्वमा नपुग्दैदेखि निकट मानिन्थे । विद्या राष्ट्रपति भएदेखि त उनीहरुको सम्बन्ध झन नजिक भएको थियो । प्रधानमन्त्रीका रुपमा ओलीले गरेका हरेक सिफारिशलाई विद्याले आँखा चिम्लेर सदर गरिदिन्थिन । उसो त विद्यालाई राजनीतिको यो उचाइमा पुर्याउन पनि ओलीको नै मुख्य हात रहेको छ ।
पछिल्लो समय पार्टीभित्र शक्ति सन्तुलन र नेतृत्वको आगामी रणनीतिका विषयमा यी दुई नेताबीच समझदारीको संकेत देखिएको चर्चा छ। पछिल्लो समय एमालेभित्र भण्डारी पक्षधर नेताहरू सक्रिय भएका छन् भने ओली नेतृत्वमाथि आन्तरिक असन्तुष्टि पनि चुलिँदै गएको छ।
यस पृष्ठभूमिमा भएको ओली–भण्डारी भेटले एमालेको आन्तरिक समीकरणमा केही नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरू भन्छन् -‘सकेसम्म ओली आफै शक्तिमा रहन चान्छन् । कसैगरी उनी बाहिरिने अवस्था आयो भने विद्यालाई नै नेतृत्वमा ल्याउन चाहन्छन् । भलै यो कुरा बुझ्न एमालेका अन्य नेताहरुलाई केही समय लाग्न सक्छ ।’
प्रतिक्रिया