काठमाडौं- नेकपा(एमाले)ले पपूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाएको छ । मंगलबार मध्यराति सकिएको केन्द्र कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र अभिभावकीय भूमिकामा बस्नुपर्ने निर्णय सुनाएका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरूले ‘मिसन २०८४’ का लागि केपी ओलीको नेतृत्व आवश्यक रहेको सुझाव दिएका थिए । ओलीको निर्णय पछि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी समिति सदस्य कर्ण थापाले असहमति व्यक्त गरेका थिए ।
यसले विद्याको पुनरागमन रोक्न एमाले पूर्णतया लागेको स्पष्ट भएको छ । उता केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला विद्या स्वयंमले आफ्नै निवासमा पत्रकारमाझ आफू पछि नहट्ने बताएकी छिन् । उनले आफ्नो सदस्यता विवादमा ल्याएर अपमान गरिएको बताउँदै पछि नहट्ने चेतावनी दिएकी हुन् ।
एमालेमा एकातिर विद्यालाई निषेध गर्नेगरी केन्द्रीय कमिटीले निर्णय गरेको छ भने अर्कोतिर उनी पछि नहट्ने अडानमा रहेकी छिन् । विद्याको पुनरागमन पछि एमालेमा ध्रुवीकरण बढेको छ । नेता कार्यकर्ताहरु विद्या र ओली गरी दुई कित्तामा बाँडिएका छन् ।
प्रतिक्रिया