काठमाडौं–नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले सम्पूर्ण मधेश एक प्रदेशको नेतृत्व आफूहरुले गर्ने दाबी गरेका छन् । नेसंसपाको केन्द्रीय पदाधिकारहरुको विशेष बैठकमा सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन् । उनले ‘समग्र मधेश एक प्रदेश’ बनाउने जनचाहनालाई आत्मसात गर्दै पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा गम्भीरता, प्रतिबद्धता र संकल्पका साथ अघि बढ्न निर्देशन दिएका छन् ।
‘नेपाली जनताको चाहना हो—समानता, स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्ध नेपाल । समाजवादको लक्ष्य, बहुराष्ट्रिय राज्यको स्थापना र अधिकार सम्पन्न प्रदेशहरूको निर्माणले मात्र त्यो सम्भव छ’, उनले भने । केन्द्रीय पदाधिकारीहरूको विशेष बैठक अन्सारीको अध्यक्षतामा सञ्चालन पार्टी उपमहासचिव जनक कार्कीले गरेका थिए भने उपाध्यक्ष तथा प्रदेशसभा सदस्य, पूर्वगृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारी विशेष रूपमा उपस्थित थिइन् ।
बैठकमा सबै केन्द्रीय पदाधिकारी र आमन्त्रित सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । बैठकले देशको वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आम नागरिकको जनजीवन र पार्टीको भावी कार्ययोजनामाथि गम्भीर छलफल गर्दै पाँच वटा ठोस निर्णयहरू पारित गरेको छ । बैठकले सरकारको कार्यशैलीप्रति गहिरो चिन्ता व्यक्त गर्दै निष्कर्ष निकालेको छ कि वर्तमान सरकारको पालामा भ्रष्टाचार व्यापक रूपमा बढेको छ, जसमा सरकारका मन्त्रीहरू नै संलग्न रहेको प्रमाणहरू सार्वजनिक भइरहेका छन् ।
सुशासनको अनुभूति जनताले गर्न सकेका छैनन्, शासन प्रणाली जनउत्तरदायी र पारदर्शी छैन । बेरोजगारी उच्च दरमा वृद्धि भइरहेको छ, आर्थिक बेथिति, अनियमितता र महँगीले आम नागरिकको जीवन संकटमा परेको छ ।
प्रतिक्रिया