काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’को व्यवस्थालाई लिएर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर प्रश्न उठाएका छन्।
प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै कुलिङ अफ पिरियडबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई नै प्रतिप्रश्न गरेका हुन्। उनले प्रचण्डको दोहोरो भूमिकामाथि व्यंग्य गर्दै ‘आफ्नै बोली आफैँलाई गलपासो नहोस्’ भन्दै सचेत समेत गराएका छन्।
भट्टराईले प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन्, ‘तपाईँले सङ्घीय निजामती सेवाको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।’
उनले अगाडि प्रश्न गरेका छन्, ‘यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’
प्रतिक्रिया