काठमाडौं– नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीबाहेक नेपालका सबै प्रधानमन्त्रीले असुली धन्दा चलाएको अभिव्यक्ति दिएपछि पार्टीपंक्ति तरंगित बनेको छ ।
‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ। तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ। यो आरोप होइन, यथार्थ हो।’, उपमहासचिव शर्माले गत साउन ६ गते राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए ।
पार्टीभित्र र बाहिर यस बारे चर्चा भइरहँदा शर्माको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रचण्ड पक्षीय नेताहरुले सामाजिक सञ्जालमै प्रतिवाद गरिरहेका छन् । प्रचण्डका पूर्वस्वकीय सचिव रमेश मल्लदेखि वाइसीएलका इन्चार्ज रामप्रसाद सापकोटा, सांसद माधव सापकोटाले शर्माको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमै त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै शर्मालाई उल्टै प्रतिप्रश्न गरेका छन् ।
यसैबीच नेता सुदन किरातीले भने नेतृत्वमाथि प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्न आग्रह गरेका छन् । उनले नेतृत्वको चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरेर नेतृत्वको योगदानलाई जुगजुगसम्म बचाउन सुझाब दिएका छन् ।
शर्माको यस अभिव्यक्ति विरुद्ध उत्रिएका अधिकांश नेताहरु पार्टी अध्यक्ष प्रचण्डको निकट रहेकाहरु देखिएका छन् । अन्य प्रतिबद्ध कार्यकर्तादेखि नेताहरुले भने शर्माकै पक्ष लिँदै पार्टीभित्रको गलत प्रवृत्ति सच्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
माओवादी पूर्वजनमुक्ति सेनाका कमाण्डर रहेका श्रीराम गिरी गगनले उपमासचिव शर्माको विरोध गरेर पूर्वराष्ट्रपति विद्या भण्डारी प्रति पक्षधरता देखाउनेहरु माओवादी नभएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘एकथरिका माओावादी हरुलाई कमरेड प्रभाकर माथि गालि वर्षाउन फुर्सद छैन, अर्को थरिकालाई विद्या भण्डारीको प्रचार गर्न फुर्सद छैन सारतः यी दुवै समग्र माओवादी आन्दोलनका हानिकारक भाईरस हुन् र हामीहरु यिनकै कोपभाजनमा पर्ने कुरामा दुईमत छैन।’
यस्तै वाइसिएलका निवर्तमान अध्यक्ष रहेका सुबोध शेर्पालीले माओवादी पार्टी बिग्रनुमा हिजो विभाजित भएर फर्किएकाहरुको भूमिका रहेको आरोप लगाएका छन् । उनले पार्टीभित्र कसैलाई देवत्वकरण र राक्षसीकरणको प्रवृत्ति बढेको बताउँदै जनपक्षीय पार्टी र वर्गप्रती प्रतिबद्ध मूुल नेतृत्व सहितको टिम बनाउन संकल्प गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले लेखेका छन्, ‘०६४ को निर्वाचनमा र त्यसपछि अनेक नियुक्तिबाट लाभ लिएका लालगद्दारहरू ०७० को निर्वाचनमा माओवादीको मुल नेतृत्वदेखि अन्य शीर्ष नेतृत्वको हत्यासम्मको कोसिस गरे तिनै मान्छे विभिन्न चरणमा पार्टी फर्केर मनग्य फाइदामा छन् । महत्वपूर्ण जिम्मेवारीमा उनै छन् । पार्टीको मुल नेतृत्वलाई घेराबन्दी पनि उनकै छ चाप्लुसी छुल्याइ पनि ।’
उनले पार्टीकै पदाधिकारी तहबाटै वर्तमा अन्तरविरोध चर्काउने कार्य भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । शेर्पालीले अगाडि लेखेका छन्,‘ पार्टीको केन्द्रीय पदाधिकारीको दुहाई दिँदै अन्तरविरोध समाधान होइन चर्काउन मलजल पु¥याइरहेका छन् ।’
यस्तै बिमला सिंहले अरु पार्टीमा नेतृत्व विरुद्ध प्रश्न उठाएकाहरुलाई क्रान्तिकारी देख्ने तर आफ्नै पार्टीभित्र प्रश्न उठाउँदा धारे हात लगाउने प्रवृत्ति हाबी भएको टिप्पणी गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘अन्य दलका नेताहरूको ‘चुनौती’ क्रान्तिकारी देखिन्छ, तर आफ्नै पार्टीका नेताले प्रश्न उठाउँदा त्यसलाई गुट, गद्दारी वा धारेहात लाएको मानिन्छ। भिम रावल, विद्या भण्डारीको ओलीविरुद्धको स्ट्यान्ड— ‘क्रान्तिकारी’ देख्ने हामी, शेखर कोइराला, सुनिल शर्माहरुको काङ्ग्रेस भित्रको असन्तुष्टि — ‘साहसी’ देख्ने हामी, जनार्दन शर्माको आन्तरिक प्रतिस्पर्धाको माग किन स्वीकार्न सक्दैनौं?’साथै उनले उपमहासचिव शर्मा सदैब प्रचण्डको रक्षाकवजका रुपमा रहेको उल्लेख गर्दै नेतृत्वको विकल्प खोज्नु गलत नभएको जिकिर गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘जनार्दन शर्मा त्यो नाम हो, जसले कहिल्यै पार्टी छाडेन, कहिल्यै नेतृत्वविरुद्ध षड्यन्त्र गरेन, नीतिगत असहमति हुँदा पनि सैद्धान्तिक बहसको बाटो रोजे। उनीहरूले कहिले विप्लवझैं संविधान जलाएनन्, बादलझैं बम हानेनन्, देव गुरुङ झै प्रचण्डलाई गद्दार भन्दै हिडेनन। बरु जब पार्टी गम्भीर संकटमा थियो धोबिघाट मा को को थिए हेक्का होलानी त्यही शर्मा, पुन, बस्नेतहरू संगै मिलेर काँध थामेका थिए।इतिहास स्मृतिभ्रंशले होइन, निरन्तरताले बन्छ। नेतृत्वको विकल्प खोज्नु अपराध होइन । ’
अर्का दिप भण्डारीले विधिको कुरा उठाउँदा रोइलो गरिएको बताउँदै यो पार्टी हो कि प्रालि ? भन्दै प्रश्न गरेका छन् । यस्तै पुष्प न्यौपानेले चाकडीका लागि कृत्रिम उत्तेजना प्रकट नगर्न आग्रह गर्दै ८४ मा पत्तासाफ हुने तर्फ सचेत गराएका छन् ।
प्रतिक्रिया