सप्तरीमा खानेपानीको अभाव, डिपबोरिङ र चापाकलसमेत सुक्दै

आइतबार, ११ साउन २०८२, १६ : ०३

काठमाडौं- सिंचाइको अभावको समस्या छँदै गर्दा सप्तरीमा खानेपानीको समस्या भएको छ  । जिल्लाको उत्तरी, पश्चिी भेग तथा दक्षिण क्षेत्रमा यस्तो समस्या आएको हो ।  मधेस प्रदेशको हरेक जिल्लामा अहिले अत्यधिक गर्मी र समयमा वर्षा नभएका कारण चापाकलमा पानी सुक्न थालेपछि  खानेपानीको अभाव भएको छ  । 

सुक्खा जमिनका कारण ट्युबवेलमा पानी आउन कम भएकाले खानेपानीको समस्या भएको खडक नगरपालिका –५ खोजपुरका महेन्द्र ठाकुरले बताए । उनले भने, “यस भेगमा विगत डेढ÷दुई महिनादेखि खानेपानीको समस्या भोग्नु परेको छ, डिपबोरिङबाट पनि पानी आएको छैन ।”

उनले चुरेक्षेत्रबाट खोजपुर गाउँ हुँदै बग्ने चापिन नदीमा पनि यसवर्ष पानी सुकेको बताए ।  नदीमा असार र साउन महिनामा प्रत्येक वर्ष बाढी आउने गरेको भए पनि यसवर्ष सुक्खा बालुवा नै देखिएको छ । यस नदीमा पानी नभएका कारण पनि गाईभैँसीलाई पानी खुवाउनका लागि कुवाबाट पानी ल्याएर खुवाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे। 

उनले भने, “नदी, चपाकल र डिपबोरिङ सबै सुकेपछि खडक नगरपालिकाभरिको अन्य वडामासमेत पानीको अभाव देखिएको छ ।” 

खडक नगरपालिका, ८, ३, १, २ र ४ मा पनि पानीको समस्या देखिएको छ । राजगढ गाउँपालिका र सुरुङगा नगरपालिका, बोदेवरसाइन नगरपालिका, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिकालगायत अधिकाश पालिकामा खानेपानीको अभाव रहको देखिएको छ  ।

लामो समयदेखि वर्षा नहुँदा जिल्लाको खाँडो नदी, जिता नदी, महुली खोला, बलान खोलालगायत आधादर्जन महत्वपूर्ण नदी अहिले सुक्खा अवस्थामा छन् । 

जिल्ला प्रशासन कार्यालयले अभाव भएको गाउँमा खानेपानी वितरण सुरु गरेका छन् । जिल्लाको सुरुङा नगरपालिका–१० थलहा र सिसुवा, राजगढ गाउँपालिका–३ नर्घो, रुपनी गाउँपालिका–१ र २ पिपराही, विष्णुपुर गाउँपालिका–३ सिमरहा, अग्नि साइरकृष्ण संवरण गाउँपालिका–३ मटिगढी र राजगढ गाउँपालिका–१ मा खानेपानी अभाव भएको ठाउँमा प्रदेश सरकारले पानी पु¥याइरहको छ  । 

जिल्ला विपद् व्यवस्थापन समितिले पनि राजविराजको बरख गण, भलुवाही ब्यारेकको दुईवटा ट्याङ्रमार्फत खानेपानी वितरण थालेको छ ।- रासस

 
आइतबार, ११ साउन २०८२, १६ : ०३

प्रतिक्रिया