वर्षभरि कहिल्यै नसुक्ने ढुंगामाथिको मांगा पोखरी, प्रचारप्रसार नहुँदा ओझेलमा

सोमबार, १२ साउन २०८२, १५ : ४०

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुंगामाथि रहेको मांगा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जंगलको बीचमा रहेको ठूलो ढुंगाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन ।

स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ । राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने स्थानीय बज्रमान राईले बताए । नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा कुनै हिंसात्मक कार्य निषेध गरिएको छ ।

बाबुबाजेको पालादेखि पूजा हुँदै आएको यो पोखरीलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्ने प्रयास भइरहेको स्थानीय धनराज राईले जानकारी दिए । उनका अनुसार गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पोखरीसम्मको बाटो मर्मत गरिएको छ । साथै, भक्तजनका लागि प्रतीक्षालय निर्माण भइसकेको । अब मन्दिर निर्माण गर्ने योजना रहेको राईले बताए ।
 

 
सोमबार, १२ साउन २०८२, १५ : ४०

प्रतिक्रिया