काठमाडौं– नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष पेचिलो बन्दै जाँदा नेता कार्यकर्ताहरु एकआपसमा भौतिक आक्रमणमै उत्रिन थालेका छन् ।
अखिल(क्रान्तिकारी)को निर्वाचनमा पराजय व्यहोरेका भुवनसिंह बिष्टले कञ्चनपुरमा अखिल(क्रान्तिकारी)का उपमहासचिव रामचन्द्र भट्टराईमाथि आक्रमण गरेपछि सस्थापन पक्ष आक्रमणमा उत्रिएको इतर पक्षले आरोप लगाएको छ ।
अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबाट उम्मेदवारी दिएका बिष्टले पराजय व्यहोरका हुन् । अर्का भट्ट भने उपमहासचिव शर्मा पक्षीय प्यानलबाट अखिल (क्रान्तिकारी)को उपमहासचिवमा निर्वाचित भएर हाल सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् ।
गत आइतबार माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा अखिल(क्रान्तिकारी)को आन्तरिक बैठक बसिरहेको बेला विवाद हुँदा बिष्टले उनै भट्टमाथि आक्रमण गरेका थिए । उनले ढुंगा प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
बिष्टको आक्रमण पछि घाइते भएका भट्टलाई त्यहाँ उपचारपश्चात थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा ल्याइएको छ । अहिले उनको अन्नपूर्ण न्यरो अस्पतालमा उपचार भइरहेको छ । सोमबार पार्टी उपमहासचिव जनार्दन शर्मा अस्पतालमा पुगेर भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पार्टीमा विधि र पद्धतिको एजेण्डा उठाएका शर्मामाथि प्रतिशोध साँधेर प्रचण्ड पक्षले शर्मा पक्षीय कार्यकर्तामाथि आक्रमण गरेको भन्दै उनी पक्षीय नेताहरुले आपत्ति प्रकट गरेका छन् । माओवादी केन्द्र कञ्चनपुरले पार्टी हित विपरीत कार्य गरेको भन्दै बिष्टलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट र संयोजक खेमराज पाण्डेले एक विज्ञप्ति जारी गर्दै आक्रमणकारी बिष्टलाई कारबाही गरिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया