सांसद राजन दाहाललाई शहीदपुत्रले सम्झाए जनयुद्धमा आत्मसमर्पण गरेको क्षण

बुधबार, १४ साउन २०८२, १० : ५८

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेता एवं सांसद राजन दाहाललाई जिल्लाकै शहीदपुत्रले गम्भीर प्रश्न गरेका छन् । दाहाललाई सिन्धुलीकै माओवादीका अग्रज नेता रहेका शहीद महेन्द्र श्रेष्ठका छोरा कीर्तिक श्रेष्ठले २०५५ सालमा आत्मसमर्पण गरेपछि कहाँ थिए भनेर याद गर्नुपर्दैन ? भन्दै प्रश्न गरेका हुन् । 

उनले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरसँग भिड्ने हैसियत नभएको भन्दै सिन्धुलीबाट निर्वाचित सांसद दाहाललाई जनयुद्धकालमा आत्मसमर्पण गरेको क्षण सम्झाएका हुन् ।

शहीदपुत्र कीर्तिकले सामाजिक सञ्जालमार्फत दाहाललाई प्रश्न गर्दै लेखेका छन्,‘२०५५ साल असार २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेपछि २०६३ सालसम्म आफू कहाँ थिए भनेर याद गर्नुपर्दैन ? त्यसै जनार्दन शर्मासँग भिड्न खोजेर हुन्छ ? त्यस्तो हैसियत पनि छ र ?’

सिन्धुलीको अग्रज र प्रभावशाली नेताका रुपमा परिचित कीर्तिकका बुबा महेन्द्र राजनीतिक र सैन्य क्षेत्र दुबैमा निपुण पूर्वका चर्चित माओवादी नेता हुन् । माओवादीले जनयुद्ध सुरु गरेपछि भारतीय माओवादीसँग तालिम लिन जाने दुई जनामध्ये एक जना पासाङ र अर्का यिनी हुन् ।

सिन्धुलीबाट शहीद भएका माओवादी नेताहरू शेरमान कुँवर, मोहनचन्द्र गौतम, कमल देवकोटा, खड्ग देवकोटा, सीएन श्रेष्ठसहितको नेतृत्व यिनैले गरेका थिए । शहीद महेन्द्रकै नेतृत्वमा उनका आफ्नै दाजु दीर्घराज श्रेष्ठ,अर्का नेता गंगा श्रेष्ठ, कल्पना सुवेदी र ध्रुव देवकोटा माओवादी आन्दोलनमा सहभागी भएका हुन् ।

 
 
 
 
 
 
 
 
बुधबार, १४ साउन २०८२, १० : ५८

प्रतिक्रिया