काठमाडौं– नेकपा(माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनार्दन शर्माबीच अन्तरविरोध पेचिलो बन्दै जाँदा नेताहरुले एक अर्काको पोल खोल्ने क्रम सुरु भएको छ ।
करिब दुई वर्षदेखि पार्टीमा विधि पद्धतिको माग गर्दै पार्टी अध्यक्ष प्रचण्डसँग अन्तरसंघर्ष गर्दै आएका शर्माले पछिल्लो समय एमालेका मनमोहन अधिकारी बाहेक अरु प्रधानमन्त्रीले असुली धन्दा चलाएको आरोप लगाएपछि अन्तरसंघर्ष थप चर्किएको छ । शर्माको उक्त अभिव्यक्तिपछि नेता कार्यकर्ताहरु ध्रुवीकरण हुन थालेका छन् ।
यसैबीच प्रचण्डतिर लागेर अर्का उपमहासचिव वर्षमान पुन जनार्दनमाथि खनिन थालेपछि माओवादी नेता शिबकुमार मण्डलले पुनको मेडिकल व्यवसायी एवं कांग्रेस सांसद सुनिल शर्मासँगको सम्बन्ध बारे सार्वजनिकरुपमै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सांसद सुनिल शर्मासँगको व्यावसायिक सम्बन्धलाई लिएर प्रश्न उठाएका हुन् । पुन अर्थमन्त्री हुँदा सांसद शर्माले उनको निकै प्रशंसा गर्ने गर्दथे ।
उनले ऐतिहासिक र सफल अर्थमन्त्री भएको भन्दै प्रशुंसा गर्नुको रहस्य मण्डलले उजागर गरिदिएका छन् । मण्डलले सामाजिक सञ्जालमा लेखेका छन्,‘ म सम्झन्छु– त्यो समय जब अध्यक्ष प्रचण्डको सरकार सुशासनको मार्गमा समर्पित थियो र मोरङका सांसद डा।सुनिल शर्माले उनको आलोचना गर्दै इतिहासकै उत्कृष्ट अर्थमन्त्रीको उपाधिसम्म दिए । त्यो विरोध र प्रशंसाको सम्बन्ध सामान्य थिएन । यो हामी कहाँ छौ भन्ने गम्भीर प्रश्न हो । पूर्वको नोबेल मेडिकल अस्पतालको शेयर काण्ड जस्ता घटनाले देखाएको हाम्रै पार्टीको भित्रको नेताको घृणित चरित्रलाई जनताले जनताले बिर्सिएका छैनन् । ’
मोरङबाट निर्वाचित कांग्रेसका सांसद सुनील शर्माले सरकारको नेतृत्व गरेका प्रचण्डको विरोध गर्दै अर्थमन्त्री रहेका पुनको निकै प्रशंसा गर्ने गरेका थिए । त्यसैलाई लक्षित गर्दै मण्डलले पुन र शर्माको सम्बन्धलाई लिएर कटाक्ष गरेका हुन् । मण्डल माओवादीमा जनार्दन निकट नेताका रुपमा चिनिन्छन् ।
साथै उनले सत्य बोल्ने आँट गर्नेलाई पार्टी विभाजनको हल्ला फैलाउने गरिएको बताउँदै जनताको भरोसा माफीयावादको छायाँमा हराउन थालेको टिप्पणी गरेका छन् । मण्डलले उपमहासचिव शर्माले उठाएको एजेण्डामा साथ दिँदै विशेष महाधिवेशनकले पार्टीभित्रको समस्या हल गर्ने विश्वास व्यक्त गरेका छन् ।
सांसद सुनील शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेज अनेकौं जालसाजी गरेर आफ्नो मातहत ल्याएको बताइन्छ । उनले माओवादी नेता पुनको सहयोगमा अन्य शेयर धनीबाट बलजफ्ती हडपेर आफ्नो एकल साम्राज्य खडा गरेको आरोप लाग्ने गरेको छ ।
यसबारे पूर्वमाओवादी नेता एवं हाल राजनीतिक विश्लेषक रहेका मुमाराम खनालले समेत सार्वजनिक रुपमै सांसद शर्मामाथि प्रश्न उठाएका थिए । खनालले शेयरधनीलाई सांसद शर्माले कुटपिट गर्दैै कलेज आफ्नो नाममा गराएको र त्यसमा माओवादी नेता पुनको साथ रहेको बताएका छन् ।
‘६५ सालमा खास नाबेल कलेजका कल्पनाकार र लगानीकर्ताहरुलाई सुनीलले माओवादी नेता रामबहादुर थापा र वर्षमान पुनलाई गुहारेर कामीडाँडामा लगेर कसरी कुटेर कलेज हात पारे ? खनालले नाबेल मेडिकल कलेजका मालिक सुनील शर्मा कसरी कांग्रेस सांसद र समाजसेवी भए ?’, अल्प स्मरणका रोगी नेपालीले बुझुन भन्दै अगाडि लेखेका छन्, ‘उनका आजका नक्कली कुरा सुनेर मख्ख पर्ने जमात लोकतन्त्रको सबैभन्दा कान्छो शत्रु हो । र, कांग्रेसको त कालो शत्रु हो ।’
खनालका अनुसार संस्थापक लगानीकर्तालाई कुटेर सुनील शर्माले कलेज आफ्नो नाममा गराएका हुन् । उनले भनेका छन्, ‘मेरा साथीहरु नवराज पाण्डे, आदित्य खनाल शर्मा (संस्थापक नेम) यसका मुख्य लगानीकर्ता थिए । तर सबैलाई कुटेर पिटेर सुनिलले मेडिकल कलेज कसरी आफ्नो नाममा लिए भन्ने कथाको साक्षी म मात्रै होइन, बाबुराम भट्टराई पनि हुनुहुन्छ। ’
प्रतिक्रिया