काठमाडौं- नेकपा(माओवादी केन्द्र)भित्र नेतृत्व हस्तान्तरणको बहस चर्किदै जाँदा नेताहरु ध्रुवीकरण हुने क्रम बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच नेतृत्व हस्तान्तरणको विषयमा अन्तरसंघर्ष बढ्दै जाँदा एउटै परिवारका श्रीमान श्रीमती समेत अलग अलग कित्तामा पुगेका छन् ।
माओवादी केन्द्रमा करिब ३६ वर्षदेखि एकल नेतृत्वमा रहेको प्रचण्डले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहस पार्टीभित्र चलिरहेको बेला अर्का उपमहासचिव वर्षमान पुनको दम्पत्ति प्रचण्डको पक्ष र विपक्षमा विभाजित भएका हुन् ।
पूर्वसभामुख एवं पार्टीको स्थायी समिति सदस्य समेत रहेकी वर्षमान पत्नी ओनसरी घर्तीले नमर्दासम्म नेतृत्व चाहिने भन्दै अध्यक्ष प्रचण्डलाई कटाक्ष गरेकी छिन् भने उनका श्रमिान वर्षमान पुनले प्रचण्डको विकल्प नभएको बताएका छन् । ओनसरीले नमर्दासम्म नेतृत्व चाहिने हो भने युवाहरुको निकास के हो ? भन्दै प्रचण्डलाई प्रश्न गरेकी छिन् ।
उनले सार्वजनिक कार्यक्रममा भनेकी छिन्, ‘आज युवाहरुले धेरै ठूलो आवाज उठाइरहनुभएको छ । के कोही नेता नमर्दासम्म पार्टीको अध्यक्ष हुने हो ? के कोही व्यक्ति नमर्दासम्म यो देशको प्रधानमन्त्री भइरहने हो ? ’
उनले आजीवन अध्यक्ष हुने हो भने युवाहरुलाई कसरी निकास दिने भन्दै अगाडि भनेकी छिन्,‘यदि त्यो हो भने युवाहरुको निकास के हो ? राजनीतिक दलभित्र सक्रिय युवाहरुको पनि यो प्रश्न छ । अरु समाजभित्र रहेका युवाहरुले पनि यो प्रश्न गरिरहनुभएको छ ।’
तर उनका श्रीमान वर्षमान पुन भने प्रचण्ड अझै माओवादीमा निर्विकल्प रहेको जिकिर गरिरहेका छन् । पार्टीकै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले नेतृत्वलाई जनताले विश्वास गर्न थालेकाले विकल्प खोज्न नहुने बताएका छन् । उनले अहिले नेतृत्वलाई सबैले राम्रो भन्नुपर्ने बताउँदै व्यक्तिगत आरोप लगाउन नहुने धारणा व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘पार्टी राम्रो हुँदैछ रुपान्तरित हुँदै राम्रो हुँदा त कमसेकम नेतृत्वलाई राम्रो भन्न सक्नुपर्छ । नेतृत्वमाथि व्यक्तिगत लाञ्छनाजस्तो लगाएर लिडरसीपलाई कमजोर बनाउने जुन प्रवृत्ति छ त्यो स्वीकार्य हुँदैन ।’
प्रतिक्रिया