काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालयद्धारा प्रकाशित पशु चिकित्सा तथा पशुपालन स्नातक कार्यक्रमको भर्ना सूचनाप्रति नेपाल पशु चिकित्सा परिषद्ले आपत्ति जनाएको छ ।
आज सार्वजनिक सूचना निकालेर परिषद्ले उक्त सूचना स्थगित गर्न भनेको छ । विश्वविद्यालयले गत साउन ६ गते पशु चिकित्सा तथा पशुपालन स्नातक कार्यक्रमको प्रवेश परीक्षासम्बन्धी सूचना निकालेको थियो ।
पशु चिकित्सा परिषद् ऐन, २०५५ र नियमावली, २०५७ विपरीत सूचना सार्वजनिक गरेकोले परिषद्ले आपत्ति जनाएको बुझिएको छ । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाले हालसम्म स्थायी मान्यता प्राप्त नगरेकाले आपत्ति जनाइएको बताइन्छ । साथै, हरेक शैक्षिक सत्रको भर्ना सूचनाअगावै परिषद्बाट न्यूनतम मापदण्डबमोजिम सम्बन्धित कलेजहरुले अनुगमन निरीक्षण गराई अस्थायी मान्यता लिएर मात्र सःशर्त भर्नासम्बन्धी सूचना निकाल्नुपर्छ ।
विश्वविद्यालयले उपर्युक्त प्रक्रिया पुरा नगरी भर्ना सूचना निकालिएकोले तत्काल भर्ना प्रक्रिया रद्द गर्न परिषद्ले सचेत गराएको छ । अन्यथा, नाम दर्ता परीक्षा ९लाइसेन्स० मा समावेश नगराउने चेतावनी दिइएको छ ।
सूचनामा भनिएको छ, ‘विश्वविद्यालयको पूर्ववत् सूचनाबमोजिम नयाँ भर्नाको मान्यता यस परिषद्बाट नदिइने–नरहने व्यहोरा सूचित गराइँदै सो व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन नगरी हालको भर्ना प्रक्रिया अगाडि बढाएमा भविष्यमा नाम दर्ता परीक्षामा समावेश गराउन नसकिने अवस्थासमेत सिर्जना हुनेप्रति सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्था पूर्ण रुपमा जिम्मेवार हुने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ ।’
प्रतिक्रिया