काठमाडौं— नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले सरकार बहुविवाहलाई वैधानिकता दिने विधेयक ल्याउने तयारीमा रहेको भन्ने चर्चाप्रति संसदमा आपत्ति जनाएकी छिन्।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै शर्माले उक्त विषय सार्वजनिक रूपमै उठ्दै गएको भन्दै सरकारसँग जवाफ माग गरेकी हुन्।
उनले भनिन्, “हिजोआज सामाजिक सञ्जाल, मिडिया र जनजनमा सरकारले बहुविवाह गर्ने छुट दिने कानुन ल्याउँदै छ भन्ने कुराले व्यापकता पाएको छ सभामुख मार्फत म सोध्न चाहन्छु, के कानुन मन्त्रालयमा त्यही आसयको विधयेक ड्राफ्ट गर्दै हो ? यसको जवाफ चाहियो सरकार !”
२१ औं शताब्दीमा यस्ता निकृष्ट विषयमा बोल्नुपर्दा लज्जित भएको बताउँदै सांसद शर्माले भनिन्, “नेपालको संविधान, अन्तर्राष्ट्रिय फोरमहरूमा हामीले गरेका हस्ताक्षर, महिला अधिकार तथा भेदभाव उन्मूलनसम्बन्धी सन्धी र महासन्धी यी सबैको विरुद्ध यस्तो विधेयक ड्राफ्ट गर्ने हिक्मत कसरी आयो सरकार ? हामी कता जाँदैछौं ? विषय निकै गम्भीर छ ।”
अतिपश्चगामी सोच तुरुन्त बन्द गर्नुपर्ने बताउँदै उनले कानुन मन्त्रालयमा यस्ता विधेयक ड्राफ्ट भइरहेका छन् भने तत्काल नष्ट गर्न चेतावनी दिइन्।
शर्माले महिलासम्बन्धी समिति अझै गठन नभएकोप्रति पनि आपत्ति जनाउँदै उक्त समिति पनि तत्काल गठन गर्न आग्रह गरेकी छिन् ।
प्रतिक्रिया