काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद सेयर बिक्री गरेको हो ।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको छ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।
इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया