काठमाडौं- वर्तमान सरकारको उर्जा राज्यमन्त्रीबाट निलम्बित भएका पूर्णबहादुर तामाङ(कान्छाराम)को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले सुर्खेतमा सडक अलपत्र पारेपछि कालोसूचीमा परेको छ ।
यसअघि पनि पटक पटक कर्णाली प्रदेश सरकारले ताकेता गर्दा पनि उनले त्यस सडक निर्माणप्रति कुनै चासो दिएका थिएनन् । सरकारमा रहेर आफ्नै पार्टीका उर्जामन्त्री दीपक खड्का विरोधी अभिव्यक्ति दिएर चर्चामा आएका उनले आफ्नो निर्माण कम्पनीले ठेक्कामा लिएको सडक निर्माणको काम अलपत्र पारेका हुन् ।
कर्णाली प्रदेश सरकारको पूर्वाधार कार्यालयले जारी गरेको सूचना अनुसार सांसद तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले सुर्खेतको विरेन्द्रनगरस्थित प्लानिङ क्षेत्र शहरी सडक अन्तर्गत प्याकेज १ मा पर्ने १५ वटा सडक १२ करोड ९४ लाख लागतमा निर्माणको जिम्मा लिएर अलपत्र पारेको हो । २०७८ सालमा निर्माणको ठेक्का लिएर ७९ मै सम्पन्न गर्नुपर्ने ती सडक हालसम्मै अलपत्र छन् ।
प्रदेश सरकारले पहिलो म्यादमा सडक निर्माण सम्पन्न हुन नसकेपछि ठेक्का सम्झौता अन्त्य गर्ने सूचना जारी गरेपछि कान्छाराम कन्स्ट्रक्सनले काम गर्ने प्रतिवद्धतासहित कागजात पेश गरेको थियो । तर प्रतिबद्धता बमोजीम २०८१ मंसिर २० सम्म म्याद थप गरिए पनि त्यस अवधिमा समेत निर्माण सम्पन्न हुन नसकेपछि कालोसूचीमा राखेर ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राखिएको हो ।
संघीय सांसद कान्छाराम मात्रै होइन, अर्का कांग्रेसकै प्रदेशसभामा निर्वाचित भएर भर्खरै मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँ समेत सडक निर्माणको ठेक्का अलपत्र पारेर बागमतीको मुख्यमन्त्री भएका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले बाजुराको मार्तडी–कोल्टी सडक निर्माणको ठेक्का लिएर पाँच वर्षदेखि अलपत्र पारेर मुख्यमन्त्री बनेका छन् । आफ्नै पार्टीका बहादुरसिंह लामालाई संसदीय दल नेताबाट हटाएर बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।
स्रोतका अनुसार ९८ करोडको लागत अनुमान गरिएको उक्त २६ किलोमिटर सडकका लागि बाँनिया निर्माण सेवाले आधा रकममा ठेक्का पारेको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सडकको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
बानियाँको निर्माण कम्पनी पीएस जेभीले ठेक्का लिएको उक्त सडक खण्ड निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । उक्त सडक निर्माण अलपत्र पारेर बानियाँ बागमतीको मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया