टिप्पणी

प्रचण्डको डबल स्ट्याण्डर्ड : आफ्ना प्राइभेटमा, अरुलाई सरकारीमा पढाउन निर्देशन

शुक्रबार, २३ साउन २०८२, १२ : २९

काठमाडौं - जतिबेला रोल्पा रुकुममा माओवादी लडाकाहरु लडाईंमा जानुभन्दा पहिले आफ्नो लास पुर्ने खाडल आफै खनिरहेकाहुन्थे , प्रचण्ड लगायतका नेताहरु भने भारतको लखनउ, पञ्जाव र नोयडामा केन्द्रीय समितिको बैठक बसिरहेका हुन्थे । तिनै बैठकहरुबाट भारतीय बिस्तारवादका विरुद्ध लड्न सुरुङ्ग युद्धको प्रस्ताव पास भैरहेका हुन्थे ।

त्यतिबेलाको अनुभूति सुनाउने क्रममा एक जना पूर्व लडाकूले यो पंक्तिकारलाई यसरी वृतान्त भने, ‘ हामी कुनै एक्सनमा जानुपूर्व आफ्नै चिहान खन्ने गथ्र्यौं । लडाईमा कोही मरिहाल्यो भने खाडल खन्न समय लाग्न सक्थ्यो । त्यसैले पहिले खन्नु उपयुक्त हुन्थ्यो । यसरी खाडल खन्दा कोही साथीले भन्थ्यो, यो खाडल मलाई मिल्दैन कमरेड अर्को खनौं । त्यतिबेला ज्यान भन्दा प्यारो पार्टी र क्रान्ति थियो । हामी यता यसरी लडिरहेका थियौं । उता नेताहरु भारतको मेजमानी खाएर क्रान्तिको उद्घोष गरिरहेका थिए । हामी भारतीय विस्तारवादका विरुद्ध लड्ने भनेर सुरुङ्ग खन्दै थियौं, नेताहरु भने उसैको निर्देशनमा १२ बुँदे सम्झौताको तयारी गर्दैरहेछन् । ’ माओवादी युद्धकै सन्दर्भमा अर्का एकजना पूर्व लडाकूले यसरी सुनाए,‘ हामीले सुन्तलाको बोट भनेर पानी हाल्यौं । मल हाल्यौं । गोडमेल गर्यौं । हुर्कायौं । अब मिठो सुन्तला फल्ला भनेर प्रतिक्षा गरिरह्यौं । तर सुन्तला भनेर हुर्काएको बाेटमा त ज्यामिर फल्यो । आज हाम्रो पार्टीले पनि सुन्तला फलाउने भनेर आशा जगाएर ज्यामिर फलाएको छ । ’

माथिका दुई दृष्टान्तले माओवादी आन्दोलनको समग्र विगत र वर्तमानको झल्को राम्र्रसँग दिएको छ । यसबाट माओवादीको भविष्यको गन्तव्य पनि के होला भनेर सहजै अनुमान गर्न सकिन्छ । भनाइ र गराईमा सुरुदेखि नै माओवादी नेतृत्वको तारतम्य नमिलेको देखिन्छ । अहिले पनि माओवादी अध्यक्ष प्रचण्ड बाहिर एउटा कुरा गर्छन् भित्र अर्कै गरिरहेका हुन्छन् । यसको दृष्टान्त बुझ्न धेरै टाढा जानै पर्दैन । अखिल (क्रान्तिकारी) ले बिहीबार राजधानीमा गरेको कार्यक्रमलाई लिन सकिन्छ । ‘विद्यार्थीसँग अध्यक्ष प्रचण्ड ’ भन्ने उक्त कार्यक्रम रचनात्मक नै मान्नु पर्दछ । सो कार्यक्रममा प्रचण्डले जनवादी शिक्षाको बारेमा पनि लामो व्याख्या गरे । शिक्षामा राज्यको लगानी हुनुपर्ने र शिक्षा निःशुल्क हुनुपर्ने सबै कम्युनिष्टहरुको रेडिमेड धारणा प्रचण्डले पनि राखे । त्यहाँ उनले थप घोषणा पनि गरे । अबदेखि माओवादी पार्टीका सबै केन्द्रीय सदस्यका छोराछोरीहरुले सरकारी स्कुलमा पढ्नेछन् । आउने केन्द्रीय समितिको बैठकबाटै निर्णय गरिनेछ । सबैले ताली बजाए । अध्यक्ष प्रचण्ड साँच्चिकै राजनेता हुन । उनी जस्तो नेता त नेपालमा जन्मिएकै छैन ।

माओवादी पार्टी र नेताहरुको आनीबानी जान्नेहरुका लागि भने प्रचण्ड घोषणा केवल बकवास मात्र हो । युद्धकालमा माओवादीले ‘प्रचण्डपथ’ भन्ने सिद्धान्त नै बनाएको थियो । जसलाई उनीहरु नेपाली सन्दर्भको मालेमावाद पनि भन्ने गर्दथे । पछि प्रचण्ड आफैले पार्टीमा कुनै छलफल नै नगरी यो हटाएका थिए । यसै सन्दर्भलाई लिएर एकजना माओवादी जनसरकार प्रमुखले यो पंक्तिकारसित भनेका थिए, ‘प्रचण्डपथ भनेकै झुठ र छलछामको सिद्धान्त हो । त्यसैले प्रचण्डले जे बोल्छन् त्यो उल्टो हुन्छ । ’ बाँकी केन्द्रीय सदस्यहरुलाई आफ्ना सन्तान सरकारी स्कुलमा पढाउन निर्ण गर्ने प्रचण्डका नातिहरु भने राजधानीको महङ्गो स्कुल सेन्टजेभियर्समा पढ्ने गर्दछन् । उनका छोरा प्रकाश दाहालका दुवै छोराहरु प्रसिद्ध र प्रणव जावलाखेलस्थित सेन्टजेभियर्समा अध्ययन गरिरहेका छन् । छोरी रेणुका छोराले सोही स्कुलबाट कक्षा १२ यसै वर्ष उत्तिर्ण गरेका छन् । 

जनार्दन शर्मालाई थर्काउनको लागि मात्र भर्खरै सकिएको स्थायी समिति बैठकबाट प्रचण्ड विरुद्ध बोल्न निषेध गरिएकोले यस विषयमा पनि उनको पार्टीमा छलफल त नहोला । तर माओवादी इतरमा भने उनको दोहोरो चरित्र र झुटका पुलिन्दाहरु छरपष्ट नै भएका छन् । तर पनि चार दशकदेखि एकछत्र राज भएको माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको जयजयकार भैरहनेछ । 

 
 
 
 
 
 
शुक्रबार, २३ साउन २०८२, १२ : २९

प्रतिक्रिया