‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

शुक्रबार, २३ साउन २०८२, १४ : ४३

काठमाडौँ–नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ । नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा.लि. को आयोजनामा तथा नेसनल नस्कुल स्पोर्ट फेडरेस र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सहकार्यमा प्रतियोगिता सञ्चालन गरिने भएको हो ।

आयोजकले यस च्याम्पियनसिपलाई केवल एक प्रतियोगिता नभई देशभरका विद्यार्थीको ज्ञान, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्ने शैक्षिक अभियानको रूपमा अघि बढाइने बताएका छन् । यसअघि सञ्चालन भएका अन्य क्विज प्रतियोगिताभन्दा फरक शैली र संरचनामा आयोजना गरिने बताइएको यो च्याम्पियनसिप तीन चरणमा सम्पन्न हुनेछ ।

सुरुमा जिल्लास्तरमा प्रतिस्पर्धा गरिनेछ, जसमा देशभरका ७७ वटै जिल्लाका विद्यालयहरू सहभागी हुनेछन् । भदौ २० गतेबाट सुरू हुने जिल्ला स्तरीय प्रतिस्पर्धामा पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको छ । त्यहाँबाट छानिएका टोलीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् भने अन्ततः संघीय राजधानी काठमाडौँमा मंसिर ५ देखि ७ गतेसम्म ग्रान्ड फिनाले हुनेछ । विजेता टोलीलाई स्कुटर र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने उपविजेताले ल्यापटप र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । तेस्रो स्थान हासिल गर्ने टोलीलाई मोबाइल फोनसहित गिफ्ट ह्याम्पर दिइनेछ ।

त्यसैगरी, अन्तिम प्रतिस्पर्धामा पुग्ने सबै टोलीहरूलाई प्रमाणपत्र, ट्रफी, मेडल र सम्मान–पत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट क्विज मास्टर, आयोजक जिल्ला तथा प्रतिभाशाली विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिने जनाइएको छ । प्रतियोगितालाई टेलिभिजन कार्यक्रमको रूपमा समेत प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन् ।

प्रदेश तथा राष्ट्रिय चरणका केही प्रतिस्पर्धा टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रशारण गरिने भएकाले यो प्रतियोगिता लाखौं दर्शकहरूमाझ पु¥याइनेछ । आयोजकले यस च्याम्पियनसिपलाई विद्यार्थीकै लागि राष्ट्रिय पहिचानको गैर–खेलकुद प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य लिएका छन् ।
 

शुक्रबार, २३ साउन २०८२, १४ : ४३

प्रतिक्रिया