काठमाडौं– नेपाली राजनीति लक्षित जनमानसबाट बारम्बार उठ्ने एउटा प्रश्न हो– चप्पल पड्काउँदै काठमाडौं छिरेका नेताहरुको वैभवशाली जीवन कसरी भयो ?जनस्तरबाट बारम्बार उठाइने यी र यस्तै अनुत्तरित प्रश्नको जवाफ दिने आँट भने कसैले गर्दैनन् । अघोषित आम्दानीका स्रोतले आर्थिक उपार्जन गरेका नेताहरुको आलिशान महलदेखि अनेकौं व्यावसायिक क्षेत्रमा लगानी रहेको बताइन्छ ।
पछिल्लो समय माओवादी नेताहरुमाथि झनै यस्ता प्रश्न बग्रेल्ती उठ्न थालेको छ । यिनै नेतासँग युद्धमा हिँडेका कार्यकर्ताले दैनिक जीवनयापन गर्न कठिन भएर भौतारिरहँदा नेताहरु भने आलिशान महल ठड्याएर काठमाडौंमा ऐस आराम र विलासी जीवन बिताएपछि कार्यकर्ता तहबाटै यस्ता प्रश्न उठ्न थालेको हो ।
२०६३ मा शान्ति प्रक्रियामा प्रवेश गरेयता केही अपवाद बाहेक हरेक पटक माओवादी सरकारमा छ । सरकारमा जाने सौभाग्य समेत पार्टीका केही सीमित नेताहरुले पाएका छन् । माओवादीका केही नेताहरु त स्थायी मन्त्री जस्ता नै देखिन्छन् ।
को कति समय मन्त्री एवं राजकीय पदमा पुगे ?
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन पटक सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् । उनले तीनपटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । सुरुमा २०६५, ७३ र पछिल्लो ७९ गरी उनी ३ वर्ष ५ महिना १३ दिन सरकारको नेतृत्व गर्न सफल भएका हुन् । माओवादीमै हुँदा डा. बाबुराम भट्टराई पनि एक पटक प्रधानमन्त्री हुने अवसर पाएका थिए । तथापि, अहिले उनी विभाजित भएर अन्यत्र पुगिसकेका छन् ।
माओवादीमा गुटको आधारमा बारम्बार मन्त्री हुने सौभाग्य पूर्व एकताकेन्द्र समूहले पाएको छ । पार्टी एकतामार्फत भित्रिएको यो समूहले हरेकपटक आफ्नो गुटबाट एक जना मन्त्री बनाउँदै आएको छ । त्यसमध्ये बारम्बार मन्त्री बन्ने सौभाग्य पाउने नेताहरु नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेल हुन् । सधैंजसो निर्वाचन जित्दै आएका पोखरेल यसपाली भने पराजित भएर मन्त्री बन्ने सौभाग्य पाएनन् । त्यसको लाभ सोही समूहका अर्का नेता नारायणकाजीले पाए । उनी प्रचण्ड नेतृत्वको पछिल्लो सरकारमा मन्त्रालय परिवर्तन गर्दै तीन पटक मन्त्री भए ।
सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सुरु भएको उनको यात्रा एकै कार्यकालमा परराष्ट्र हुँदै गृहबाट टुंगियो । गृह मन्त्रालय सम्हाल्दा श्रेष्ठले सकारात्मक काम समेत गरेका थिए । उनी माओवादीमा सबै पटकको मन्त्रीको कार्यकाल जोड्दा तीन वर्ष सात महिना चार दिन मन्त्री बन्ने अवसर पाएका छन् ।
माओवादीमा सर्वाधिक लामो समय मन्त्री बनेर लाभको पद धारण गर्नेमा उपमहासचिव शक्ति बस्नेत पर्छन् । गृहदेखि वन तथा वातावरण हुँदै उर्जा मन्त्रालयसम्म उनले सम्हालेका छन् । बस्नेत माओवादीमा अध्यक्ष प्रचण्डको निकटस्थका रुपमा परिचित छन् । त्यसकै उपज उनी अहिलेसम्म पार्टीका नेताहरु मध्ये सबैभन्दा लामो समय मन्त्री बन्न सफल भएका हुन् । उनी हालसम्म पाँच वर्ष पाँच महिना मन्त्री बनेर धेरै पटक मन्त्री हुने कीर्तिमानी कायम गरेका छन् ।
माओवादीमा लाभ लिने अर्का पात्र हुन्, नन्दबहादुर पुन ‘पासाङ’ । माओवादी सेनाका कमाण्डर रहेका उनी दुई कार्यकाल उपराष्ट्रपति भएर अहिले पार्टीको उपाध्यक्ष भएका छन् । मुलुककै दोस्रो सर्वोच्च पद उपराष्ट्रपतिमा ७ वर्ष चार महिना १५ दिन बिताएका उनी पार्टीको छैटौं वरियतामा रहेर उपाध्यक्ष बनेका छन् ।
अर्का उपमहासचिव वर्षमान पुन पनि माओवादीमा लाभको पद लिने नेताहरुमा अग्रपंक्तिमा पर्छन् । उनले श्रीमतीलाई समेत मुलुककै सम्मानित पद सभामुख बनाइसकेका छन् । पत्नी ओनसरी घर्ती प्रतिनिधिसभाको सभामुख भइन् भने पुन पनि पटक पटक मन्त्री हुने भाग्यमानी माओवादी नेता हुन् ।
दुई पटक अर्थ हुँदै उर्जा लगायतका महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका उनी माओवादीमा लामो समय मन्त्री हुने तेस्रो नेतामा पर्छन् । पुन अहिले सम्म पटक पटक गरी ४ वर्ष १० महिना १६ दिन मन्त्री हुन सफल भएका छन् ।
माओवादीबाट बारम्बार मन्त्री हुने अवसर पाउने अर्का नेता हुन्, गिरिराजमणि पोखरेल । पूर्व एकताकेन्द्र समूहका पोखरेल आफ्नो पूर्ववत् समूहको कोटाबाट मन्त्री बन्ने अवसर पाएका छन् । उनी हालसम्म विभिन्न पटक मन्त्री बनेको समयावधि ४ वर्ष ४ महिना ९ दिन रहेको छ । उनी माओवादीमा लामो समय मन्त्री हुनेको सूचीमा तेस्रो नम्बरमा पर्दछन् ।
अर्का पार्टी उपाध्यक्ष एवं प्रवक्ता रहेका अग्नि सापकोटा पनि माओवादीमा अवसर पाउने नेतामै पर्छन् । उनी एकपटक सभामुख भए भने पटक पटक मन्त्री समेत बनेका छन् । सभामुखको कार्यकाल र मन्त्रीसहित उनी ३वर्ष ७ महिना ४ दिनको समयावधि राजकीय पदमा बिताएका छन् ।
यस्तै पछिल्लो समय अनेकौं काण्डमा परेर गुमनाम भएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पनि मनग्ये लाभ लिने नेता हुन् । उनी हालसम्म सभामुख सहित ३ वर्ष तीन महिना २४ दिन मन्त्री बनेका छन् ।
माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्डसँग अन्तरसंघर्ष गर्दै आएका उपमहासचिव जनार्दन शर्मा पनि पटक पटक मन्त्री बन्ने अवसर पाएका नेता हुन् । उनले पनि गृह, अर्थ र उर्जा लगायतका महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका छन् । उर्जा मन्त्री हुँदा लोडसेडिङ हटाउन प्रमुख भूमिका खेलेर शर्माले परिणाममुखी काम गरेका थिए । त्यसयता शर्मा उज्यालोका नायकका रुपमा समेत परिचित छन् । उनी हालसम्म पटक पटक गरी ३ वर्ष ३ महिना १६ दिन मन्त्री बन्न सफल भएका छन् ।
प्रतिक्रिया