काठमाडौँ । सत्तारुढ नेकपा(एमाले)मा समानान्तर गतिविधिको अभ्यास गर्न थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी छन् । बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने पनि बताइन् ।
उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’ उनले त्यो भावनाअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने समेत बताइन् ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरे लगत्तै पार्टीले उनको सदस्यता नवीकरण स्थगन गरेको थियो । त्यसयता राजनीतिक सक्रियता बढाइरहेकी उनले आज आफ्नो सम्पर्क कार्यालय समेत उद्घाटन गरेकी हुन् । ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयको नामबाट खोलिएको सम्पर्क कार्यालयमार्फत उनले आफ्ना राजनीतिक गतिविधि थप तीव्र बनाउन लागेकी हुन् ।
प्रतिक्रिया