काठमाडौँ - उत्तर र दक्षिणका छिमेकीले नेपालको भूमि लिपुलेकका सम्बन्धमा गरेको सहमतिको यतिबेला व्यापक बिरोध भैरहेको छ । एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको भूमिमाथि एक पक्षीय ढंगले निर्णय लिनु दादागिरीको पराकाष्टा नै मान्नु पर्दछ । नेपाललाई कुनै जानकारी नदिएर उसको सहभागिताबिना गरिएका सहमतिहरु मान्य हुने कुरै भएन । दुई छिमेकीहरुले आपसी सम्बन्ध सुधार्ने नाममा नेपाललाई अपमानित गराएका छन् र झस्काएका पनि छन् । नेपाली भूमि हुँदै व्यापार गर्ने सहमति गर्दा चीन र भारतले नेपाललाई जानकारीसमेत दिएका छैनन् । यी दुई छिमेकीले एक दशकयता पटक–पटक यही विषय उप्काएर नेपालको संवेदनशीलतालाई खेलबाड गरिरहेका छन् । यसै सन्दर्भमा अमेरिकामा व्यापार व्यवसाय गर्दै आएका सविन्द्र थापा थापाले भारत र चीनको दादगिरीको कारण नेपालको पर्यटन व्यवसाय फस्टाउन नसकेको आरोप लगाएका छन् । उनी एनआरएन अमेरिकाको टुरिजम् टास्क फोर्सका अध्यक्ष समेत हुन ।
पर्यटनको विकास र प्रवद्र्धणमै नेपालको समृद्धी देख्ने थापा नेपालको भू–राजनीतिको बारेमा जानकार रहेको बताउँछन् । उनी भन्छन,‘ आज संसारको टप पर्यटकीय गन्तव्य दुवई बनेको छ । हामीसँग सगरमाथा छ । लुम्विनी छ । तर किन पर्यटन बढ्न सकेन ? आज भारतले रुट नदिंदा हाम्रा दुवै अन्तराष्ट्रिय एयरपोर्टहरु चल्न सकिरहेका छैनन् । यसमा सरकारले दह्रो कुटनीतिक मुभ गर्नुपर्दछ । ’
लिम्पियाधुरा नेपाल–भारत–चीनको त्रिदेशीय बिन्दु हो । तर, उच्चतम पहाडमा भएकाले त्यहाँ सडक पुर्याउन कठिन छ । त्यसैले भारतले ५६ किलोमिटर पूर्वको लिपुलेकलाई नै त्रिदेशीय बिन्दु भनेको छ । त्यही दाबीमा सहमत भएर चीनले पनि धार्मिक पर्यटन र व्यापार बढाउन भारतसँग सहमति गर्दै आएको छ । भारतले पिथौरागढ बजारबाट लिपुलेकसम्म सडक बनाएको छ जसले कैलाश मानसरोवर यात्रा र व्यापार नाका पनि सहज भएको छ । छोटो मार्गबाट भारतको विशाल बजारमा आफ्ना उत्पादन पुर्याउन चीनले पनि यसलाई अवसर मानेको छ ।
दुई बलिया छिेमेकीहरुले आफ्नो मुलुकप्रति गरेको व्यवहारले आफूमा देशभक्तिको ज्वाला दन्किएको थापाले बताएका छन् । आफूमा वीर भक्ति थापाको रगत रहेको बताउँदै उनले कुनै पनि मुलुकको सार्वभौमसत्ता सानो ठूलो नहुने बताउँछन् । देशको विकास र समृद्धीको लागि आफू संसारका शक्तिशाली नेताहरुसँग पनि आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने बताउँछन् ।
प्रतिक्रिया