काठमाडौँ–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर सङ्कलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच राउन्ड टेबल नेपालका अध्यक्ष श्री प्रवेश अग्रवालले फोहोर सङ्कलन सम्बन्धि प्रतिवेदन यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गर्नु भएको हो ।
सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरु, प्रोजेक्ट केयरको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिहरु, फोहोर व्यवस्थापन, रिसाइकलिङ, र वातावरणीय संरक्षणमा योगदान पुर्याउँदै आएको संस्था खालिसीसीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको हो ।
पहिलो चरणमा ५,००० किलोग्राम फोहर सङ्कलन गर्न सफल भएको थियो । सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको तर, मानव गतिविधिको वृद्धिसँगै सगरमाथा फोहोरको डंगुर बन्दै गएको छ ।
त्यागिएका टेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो “विश्वकै सबैभन्दा अग्लो फोहोर थलो” नबनोस् भन्ने अभिप्रायका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियानलाई सहयोग गरेको हो ।
प्रतिक्रिया