काठमाडौं- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको बताइएको छ। यसअघि पनि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।
पछिल्लो समय पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष पेचिलो बन्दै जाँदा बैठकमा सवालजवाफ समेत हुन थालेको छ । केही दिन अघि प्रचण्डले शर्मा लक्षित पार्टीभित्र गुटजन्य गतिविधि गरिरहेको भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । साथै प्रचण्डले आफू सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए।
त्यसको जवाफ दिँदै शर्माले शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरे। शनिबार काठमाडौंमा आयोजित वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए।
यसले पार्टीभित्रको अन्तरसंघर्ष थप चर्काएको छ । शर्माको प्रचण्ड लक्षित त्यही अभिव्यक्तिकै कारण पदाधिकारी बैठक सार्नेसम्मको अवस्था निम्तिएको समेत माओवादी वृत्तमा चर्चा छ ।
प्रतिक्रिया