राष्ट्र बैंकको तथ्यांक

अर्थतन्त्रका सूचकमा सुधार : रेमिट्यान्स र डलरको सञ्चिती बढ्यो, मूल्यबृद्धिमा कमी, नेप्से सूचकांकमा प्रगति

मंगलबार, १० भदौ २०८२, ०६ : ५१

काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्यांकले साढे १५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको विदेशी बिनिमय सञ्चिति रहेको उल्लेख गरेको छ । राष्ट्र बैंकको उक्त वार्षिक तथ्यांकले नेपालसँग हाल कुल १९ अर्ब ५० करोड अमेरिकी डलर कुल विदेशी विनिमय सञ्चिति रहेको उल्लेख गरेको हो । विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेर २०८२ असार महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ कायम भएको हो ।

वार्षिक मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा आर्थिक बृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान छ । समिक्षा अवधिमा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले बढेको हो । शोधानान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.६ प्रतिशतले बृद्धि भई ७२ खर्ब ६४ अर्ब पुगेको छ । कर्जा प्रवाह ८.४ प्रतिशतले बृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको राष्ट्र बैंकको वार्षिक तथ्यांकले उल्लेख गरेको हो । 

विदेशी विनिमय सञ्चितीको अवस्था 

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँको विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा उक्त विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले बृद्धि भई १९ अर्ब ५० करोड पुगेको हो । हाल भएको विदेशी विनिमय सञ्चितिले साढे १५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको वार्षिक तथ्यांकले उल्लेख गरेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले बृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले बृद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड कायम भएको हो । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको तथ्यांकले देखाएको छ । 

कति भित्रियो विप्रेषण आप्रवाह (रेमिट्यान्स) ?

आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपालमा भित्रिएको छ । अघिल्लो वर्षको सोहि महिनामा १ खर्ब १७ अर्ब ७८ करोड रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपालभित्र आएको थियो । समिक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । 

कहाँ पुग्यो उपभोक्ता मुद्रास्फीति ?

आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलानामा आर्थिक वर्ष २०८१÷८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यबृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उप–समूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशत घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ । 

चालु खाता एवं शोधनान्तर स्थितिको अवस्था

आर्थिक वर्ष २०८१/८२ मा चालु खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ । समिक्षा अवधिमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ । 

कति भयो आयात र निर्यात ?

आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले बृद्धि भई २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११७.८ प्रतिशत, १.६ प्रतिशत र ६.७ प्रतिशतले बृद्धि भएको हो । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटको सामान, चिया, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, अदुवा, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०८१÷८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले बृद्धि भई १८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.२ प्रतिशत र ३१.७ प्रतिशतले बृद्धि भएको हो । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी–साधन तथा स्पेयर पार्टस, चामल÷धान, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाइजहाजका स्पेयर पार्टपुर्जा, सुन, रासायनिक मल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ । 

निक्षेप परिचालन र कर्जा प्रवाहको अवस्था

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.६ प्रतिशतले बढेको छ । अर्थात ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँ निक्षेप बढेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत अर्थात ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँले बढेको थियो । 

समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ । अर्थात ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँले कर्जा प्रवाह बढेको हो । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत अर्थात २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँले बढेको थियो । 

तरलता व्यवस्थापनतर्फ के–के भए ?                

आर्थिक वर्ष २०८१/८२ मा स्थायी निक्षेप सुविधामार्फत २१५०८ अर्ब ४० करोड रुपैयाँ र निक्षेप संकलन बोलकबोलमार्फत ३१४२ अर्ब ९५ करोड गरी कुल २४६५१ अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले पटक–पटक गरी ओभरनाइट तरलता सुविधामार्फत २ अर्ब ७० करोड तरलता उपयोग गरेका छन् । समिक्षा अवधिमा खुद २४६४८ अर्ब ६५ करोड तरलता प्रशोचन भएको छ । 

ब्याजदरमा के भयो ?

२०८१ असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.७७ प्रतिशत, विकास बैंकहरुको ६.६३ प्रतिशत र वित्त कम्पनीहरको ७.९३ प्रतिशत रहेकोमा २०८२ असारमा निक्षेपको भारित औसत व्याजदर क्रमशः ४.१९ प्रतिशत, ४.८८ प्रतिशत र ६.०१ प्रतिशत कायम भएका हो । 

२०८१ असारमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर ९.९३ प्रतिशत, विकास बैंकहरुको ११.३४ प्रतिशत र वित्त कम्पनीहरुको १२.५५ प्रतिशत रहेकोमा २०८२ असारमा कर्जाको भारित औसत व्याजदर क्रमशः ७.८५ प्रतिशत, ८.९५ प्रतिशत र १०.२२ प्रतिशत कायम भएको हो । 

पुँजी बजारमा भएका गतिविधि

२०८१ असार मसान्तमा २२४०.४१ रहेको नेप्से सूचकाङ्क २०८२ असार मसान्तमा २७९४.७९ कायम भएको छ । २०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड कायम भएको छ । २०८१ असार मसान्तमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो । २०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२.२५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६.२५ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरुको संख्या २७२ पुगेको छ । सूचिकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ९१ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचिकृत कम्पनीहरुको संख्या २७० रहेको थियो । 

आर्थिक वर्ष २०८१÷८२ मा ४० अर्ब २१ करोड बराबरको साधारण सेयर, २४ अर्ब ४२ करोड बराबरको बोनस सेयर, १३ अर्ब २३ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल ८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, १५ अर्ब २० करोड बराबरको म्युचअल फण्ड, १० अर्ब ६२ करोड बराबरको डिबेन्चर र ३ अर्ब ९३ करोड बराबरको सेयर गरी कुल ४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । 
 

 
 
 
मंगलबार, १० भदौ २०८२, ०६ : ५१

प्रतिक्रिया