काठमाडौं - सशस्त्र युद्धबाट आएका विद्रोही समूहहरुले शान्ति प्रक्रियामा आएपछि अस्तित्वको संकट भोग्नुपरेको देखिन्छ । त्यस्ता समूहहरु या त आफै लडेर सकिन्छन् या त राज्यको दमनकारी रणनीतिमा परेर समाप्त हुने गर्दछन् । भारतको नक्सलवादी वा पेरुको साइनिङ्ग पाथ होस् वा टर्कीको टिकेपी । सबैको दुर्दान्त इतिहास छर्लङ्ग छ । तर नेपालमा भने पूर्व विद्रोही माओवादी केन्द्र भने शान्ति प्रक्रियापछि पटक पटक सत्ताको नेतृत्व गर्न सफल भएको छ । संसदको एकदम कमजोर शक्ति भएर पनि उसले पहिलो र दोस्रो ठूलो दलको समर्थनमा पालैपालो सरकारको नेतृत्व गर्न सफल भएको थियो ।
शान्ति प्रक्रियापछि माओवादी केन्द्रमा विभाजन आएर ६ /७ समूह भैसकेको छ । पार्टीका प्रभावशाली नेताहरु मोहन वैद्य, बाबुराम, बादल , विप्लव लगायत अहिले माओवादीमा छैनन् । उनीहरुको बहिर्गमनपछि पार्टीमा चूनौतिरहित बनेका प्रचण्डलाई अर्का नेता जनार्दन शर्माले चूनौति दिइरहेका छन् । झण्डै चार दशकदेखि एकछत्र पार्टी सत्तामा रजगज गर्दै आएका प्रचण्डको विकल्प खोज्ने शर्माले खुला चुनौति दिएका छन् । जसका कारण प्रचण्डको निद हराम भएको छ । प्रचण्डले आफ्नै मुखबाट जनार्दनको नामै लिएर टिप्पणी गर्न थालेपछि साँच्चै माओवादी केन्द्रमा विभाजनको आगो सल्कन लागेकै रहेछ भन्ने आशंकालाई बल दिएको छ । पार्टीमा शर्माको गतिविधीप्रति लक्षित गर्दै प्रचण्डले पार्टीभित्र स्वार्थ समूह सक्रिय बन्दै गएको टिप्पणी गरेका छन् ।
कोशी प्रदेश कमिटीको सचिवालय बैठकलाई सम्बोधन गर्न आज विराटनगर पुगेका उनले उपमहासचिव जनार्दन शर्माको नाम नै किटान गरे स्वार्थ समूह सक्रिय रहेको बताएका हुन । आजै शर्मा भने घनश्याम भुसाल र विप्लवलाइृ लिएर बुटवलमा एउटा महत्वपूर्ण अन्तरक्रियामा जुटेका छन् । जहाँ उनीहरुले नेपालको कम्युनिष्ट आन्दोलनका समस्याहरुबारे छलफल गर्नेछन् ।
बिराटनगरमा प्रचण्डलाई पत्रकारले ‘तपाईलाई पार्टीभित्रैका मान्छेले पत्याउन छाडे, जनताले कसरी पत्याउने ?’ भनेर प्रश्न गरेका थिए । ‘एकजना प्रभाकरले नपत्याएर पार्टी आन्दोलन र यो इतिहास रोकिंदैन, यो कुरा हाम्रो स्थायी समितिले प्रष्ट पारिसकेको छ’, जवाफमा उनले भने, ‘यसलाई झन चर्काउने ढंगले प्रश्न गर्न जरुरी पनि छैन ।’
त्यहाँ प्रचण्डलाई ‘पार्टीभित्र कस्तो स्वार्थ समूह छ भनेर अर्को प्रश्न पनि गरिएको थियो । ‘स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नु पार्टीकाविरुद्ध गतिविधि गर्नेलाई भनिएको हो ।’ प्रचण्डले भने ।
नेपालका बाम पार्टीहरुमा विभाजन आउनु र एकता गर्नु नयाँ कुरा नभए पनि माओवादीभित्र आएको समस्यालाई गम्भीर रुपले हेरिएको छ । पार्टीमा समस्या परेपछि अन्य स - साना समूहसँग एकता गरेर आफू बलियो बन्ने प्रचण्डको पुरानै शैली हो । यसपटिक पनि उनी जनार्दनलाई साइजमा ल्याउन विप्लवसँग एकता गर्न चाहन्छन् । नारायणकाजीलाई प्रयोग गर्दै आएकोमा प्रचण्ड आफै अग्रसर भएर विप्लवसँगको एकतालाई महत्व दिएका छन् । तर प्रचण्डले भेटे लगत्तै जनार्दन पनि विप्लवकहाँ पुग्नुले प्रचण्डलाई झस्काएको छ । केही समयदेखि शर्मा र विप्लव एउटै अभियानमा लागिरहेका छन् । यसले पनि प्रचण्डको टाउको दुखिरहेको थियो ।
अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको आन्तरिक द्वन्द्व पछिल्लो समय सतहमा आउन थालेदेखि कार्यकर्तापंक्तिमा मिश्रित प्रतिक्रियाहरु व्यक्त हुन थालेका छन् । कतिपय चिन्तित देखिन्छन् भने कतिपयले अब प्रचण्डबाट नेतृत्व हुन नसक्ने भन्न थालेका छन् । हालै सम्पन्न स्थायी समिति बैठकले सार्वजनिक रुपमा असहमतिका कुरा नराख्न निर्देशन दिए पनि शर्माले मानेका छैनन् । यसले पनि के संकेत गर्दछ भने माओवादीमा सल्केको भुसको आगो सजिलै निभ्नेवाला छैन । बरु निकट भविष्यमा विभाजनको ज्वाला नै बल्यो भने आश्चर्य नमाने पनि हुन्छ ।
प्रतिक्रिया