नेपाल वितरक संघको नेतृत्वमा प्रेमहरि मैनाली, नयाँ कार्यसमिति सर्वसम्मत चयन

आइतबार, १५ भदौ २०८२, १२ : १४

काठमाडौं- नेपाल वितरक संघको २४औं साधारणसभाले प्रेमहरि मैनालीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाबाट मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

नवीन कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष नवराज दाहाल, उपाध्यक्ष केशवप्रसाद मैनाली, महासचिव गणेशप्रसाद तिमिल्सिना, सचिव अशोक कुमार कँडेल, कोषाध्यक्ष दिनेशमणि रिसाल र सह–कोषाध्यक्ष रमेश प्रजापती निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का ९विकास०, रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू चयन भएका छन् । निवर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन् ।

साधारणसभा प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा निवर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

अध्यक्ष मैनालीको प्रतिबद्धता

नवनिर्वाचित अध्यक्ष प्रेमहरि मैनालीले आफूलाई सर्वसम्मत नेतृत्वमा चयन गरेकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै वितरण व्यवसायका हकहितमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ट्राफिक समस्या, क्रेडिट प्रणालीको चुनौती लगायतका नीतिगत अवरोध समाधानलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

उनका अनुसार आयात तथा स्वदेशी उत्पादन भएका उपभोग्य वस्तुहरू बजारसम्म पुर्‍याउन वितरकहरूको भूमिका महत्वपूर्ण रहेको छ । 'वितरण व्यवसायबाट नेपालको आर्थिक क्षेत्र चलायमान बनाउन उल्लेखनीय योगदान पुगेको छ,' मैनालीले बताए, 'यस व्यवसायलाई राज्यले पनि प्राथमिकतामा राख्न जरुरी छ ।'

 
 
आइतबार, १५ भदौ २०८२, १२ : १४

प्रतिक्रिया