जनार्दनबारे अफबाह फैलाउँदै प्रचण्ड पक्षधर नेताहरु, के हो वास्तविकता ?

आइतबार, १५ भदौ २०८२, १२ : ५८

काठमाडौं- नेकपा(माओवादी केन्द्र)भित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच अन्तरसंघर्ष चलिरहेको बेलामा सामाजिक सञ्जालमा एकले अर्कालाई आरोपित गर्ने कार्य बढेको छ । 

यसैक्रममा प्रचण्ड पक्षधर नेता कार्यकर्ताले शर्माको प्रधानमन्त्री केपी ओलीसँग खिचेको सामूहिक तस्बिर भाइरल बनाएर शर्माले पार्टीभित्र थालेको अन्तरसंघर्ष ओलीकै उक्साहटमा भएको भ्रम छरिरहेका छन् । तर, उक्त तस्बिरको भने पार्टीभित्रको अन्तरसंघर्षसँग कुनै सम्बन्ध छैन । बिलकुलै फरक कार्यक्रममा  अन्य प्रयोजनले खिचिएको उक्त तस्बिरअफबाह फैलाउन मात्रै प्रयोग गरिएको हो ।
 
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्बिरमा डाइनिङ टेबलको बायाँतर्फ ओलीसँग बसेर शर्मा डिनर खाइरहेका देखिन्छन् । सोही रोहमा प्रधानमन्त्री ओली उनका धर्मपत्नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल बसेका छन् ।

अर्कोतर्फ परराष्ट्रमन्त्री डा आरजु राणा, कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, जनता समाजवादीका उपाध्यक्ष राजकिशोर यादव र पूर्वअर्थमन्त्री डा युवराज खतिवडा सँगै बसेका छन् । त्यसैलाई सामाजिक सञ्जालमा भाइरल बनाएर भ्रम फैलाउन खोजिएको हो । 

तर यो तस्बिर चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा भएको बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरू भाग लिन गएका बेला खिचिएको हो । यसैलाई लिएर कतिपय माओवादी नेताहरुले सामाजिक सञ्जालमै भ्रम चिरिरहेका छन् ।   

वाईसीएलका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य सुबोध शेर्पालीले फरक फरक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री सहितको भ्रमण टोली र सांसदहरूको फरक टोलीबिच खाना खाने क्रममा लिएको तस्बिरलाई अतिरञ्जित गर्दा घाटा आफैलाई हुने बताएका छन् ।

शेर्पालीले सामाजिक सञ्जालमा लेखेका छन्,‘केही महिनाअघि थाइल्यान्डमा सम्पन्न भएको फरक फरक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री सहितको भ्रमण टोली र सांसदहरूको फरक टोलीबिच खाना खाने क्रममा लिएको तस्बिरलाई अतिरञ्जित गरेर घाटा अरू पार्टीलाई होइन हाम्रैलाई हुन्छ उक्त तस्बिरलाई लिएर अतिरञ्जित तर्क नगरौँ’

यस्तै नेकपा(माओवादी केन्द्र)नुवाकोटका ईन्चार्ज तथा केन्द्रीय सदस्य हिरानाथ खतिवडाले पनि पुराना तस्बिरलाई अतिरञ्जित गरिएकोमा असन्तुष्टि प्रकट गरेका  छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आलोचनाको पनि हद हुन्छ नि, देशको प्रम सहित गएको विदेशको एउटा कार्यक्रममा जहाँ अन्य दलका प्रतिनिधि समेत सहभागी छन् । यस फोटोलाई कटिङ गरी जनार्दन कमरेडमाथिको निराधार आरोप किम्मार्थ सह्य छैन । यो प्रवृत्ति पार्टीलाई कमजोर पार्ने  कसैलाई खुसी पारेर जनतालाई निराश पार्ने अझ नव युवाहरूलाई पार्टीको ढोका सम्म पनि आउन नदिन तर्साउने ढोकाबन्दवादी प्रवृत्ति भन्दा अरू केही हुन सक्दैन ।’

 

 
 
 
 
आइतबार, १५ भदौ २०८२, १२ : ५८

प्रतिक्रिया