जेनजी पुस्ताले गर्‍यो आन्दोलनको घोषणा, नयाँ राजनीतिक व्यवस्था जन्माउने उद्घोष

आइतबार, २२ भदौ २०८२, १७ : ४२

काठमाडौँ– राजधानीमा आज झिन्जी पुस्ताले पत्रकार सम्मेलन गरी भाद्र २३ गतेदेखि भ्रष्टाचार र अन्यायविरुद्ध सडकमा उत्रिने घोषणा गरेको छ। वक्तव्यमा उनीहरूले तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोह गर्ने अठोट सार्वजनिक गरेका छन्।

पत्रकार सम्मेलनमा भावनात्मक शैलीमा प्रस्तुत वक्तव्यमा भनिएको थियो— “हजारौं युवाहरू विदेशी भूमिबाट रातो बाकसमा फर्किरहेका छन्, सयौं आमाबाबु सन्तानविहीन भएका छन्, कैयौँ बालबालिकाहरू टुहुरा भएका छन्। घुस नदिएर कुनै काम नहुने यो मुलुकमा न्याय मरेको छ, सुरक्षा निकाय भ्रष्टहरूको सेवक बनेका छन्।”

जेन्जी पुस्ताले विद्रोह केवल सरकार बदल्ने होइन, सम्पूर्ण राजनीतिक व्यवस्था बदल्ने आन्दोलन भएको दाबी गरेको छ। वक्तव्यमा भनिएको छ—जनताले प्रत्यक्ष भोटमार्फत आफ्ना सरकार प्रमुख रोज्ने प्रणाली ल्याइनेछ, तीन दशकसम्म लुटिएको जनताको पैसा फिर्ता गराइनेछ, र लुट गर्नेहरूलाई कालकोठरीमा हालिनेछ।

त्यस्तै, विश्वविद्यालयदेखि न्यायालय, कूटनीतिक निकायदेखि कर्मचारीतन्त्रसम्मलाई पुनःसंरचना गरेर जनताको पक्षमा उन्मुख गरिने स्पष्ट योजना पनि सार्वजनिक गरिएको छ। उनीहरूले योग्य, इमान्दार र निष्ठापूर्वक काम गर्ने व्यक्तिहरूलाई अवरोध नभइ अवसर दिने वातावरण निर्माण गर्ने प्रतिबद्धता गरेका छन्।

विद्रोहको मूल लक्ष्य नेपालको सम्पूर्ण ध्यान विकास र तीव्र आर्थिक वृद्धिमा केन्द्रित गराएर केही दशकभित्रै नेपाललाई विश्वका उन्नत राष्ट्रहरूको पंक्तिमा उभ्याउने रहेको उल्लेख छ।

पत्रकार सम्मेलनको अन्त्यमा जेन्जी पुस्ताले सबै वर्गलाई आह्वान गर्दै भने— “अब हामी चुप बस्दैनौं! अब हामी डराउँदैनौं! अब हामी झुक्दैनौं! अब हामी उठ्छौं! भाद्र २३ गते जनताको ज्वालामुखी सडकमा फुट्नेछ।”

यस घोषणासँगै राजधानीमा राजनीतिक सरगर्मी चुलिएको छ। परम्परागत दलका नेताहरू मौन रहेका बेला युवा पुस्ताबाट आएको यस प्रकारको कठोर वक्तव्यले देशको राजनीतिक परिदृश्यमा नयाँ बहस सुरु गरेको छ।

आइतबार, २२ भदौ २०८२, १७ : ४२

प्रतिक्रिया