काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा नेतृत्वका विषयमा भाँडभैलो मच्चिएपछि नयाँ नेतृत्व चयन गर्न नसकेर स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार उद्घाटन गरेको सातौं राष्ट्रिय सम्मेलनको जारी बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि स्थगित भएको हो ।
माओवादी केन्द्रभित्रको गुटगत प्रभाव महिला संघमा समेत देखा परेको छ । प्रचण्ड पक्षले आफू निकट बाहेक अन्यलाई नेतृत्वमा आउन नदिन अनेकौं हर्कत गरेर महाधिवेशन बिथोलेको इतर पक्षको आरोप छ ।
महिला संघको नेतृत्वका लागि पाँच जना जना आकांक्षी रहेका छन् । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव रहेका गणेशमान पुनकी पत्नी कमला रोका, दामा शर्मा, सुशीला सिंखडा, विमला सुबेदी र रेणु चन्द मुख्य दाबेदार हुन् । पार्टीका अधिकांश महिला नेत्रीहरुको लोकतान्त्रिक विधि प्रयोग गरेर चुनाव मार्फत नेतृत्व चयन गनुपर्ने माग छ ।
तर, पार्टी नेतृत्वले आफू अनुकूलको नेतृत्व ल्याउन निर्वाचन प्रक्रिया सुरु गर्न अवरोध गरेको एक महिला नेत्रीले बताइन् । ती महिला नेत्रीका अनुसार आइतबार एवन पार्टी प्यालेसमा सत्या पहाडी, रेणु चन्द, प्रचण्डपुत्री रेणु र गंगा दाहाल, विमला सुवेदी, कमला रोका लगायतका प्रचण्ड पक्षीय नेत्रीहरु बसेर दामा शर्मालाई कुनै हालतमा नेतृत्व दिन नहुने पक्षमा उभिएका छन् ।
उनीहरुले चुनाव मार्फत नेतृत्व चयन अस्वीकार्य रहेको बताउँदै पूर्व वैद्य समूहमा रहेकी शर्मालाई कुनै हालतमा नेतृत्व नदिन एक मत भएको उनले बताइन् ।प्रचण्ड पक्षले दामा शर्माबाहेक अरु आफू पक्षीय नेत्रीहरु मध्ये कमला रोकालाई नेतृत्व ल्याउन चाहेपनि सोही समूहमा समेत सहमति जुट्न सकेको छैन । तर, दामा शर्मालाई बनाउन नहुने पक्षमा भने उनीहरु सबैको एक मत रहेको छ ।
यस अघि विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को महाधिवेशन जस्तै पार्टी नेतृत्वले महिला संघको महाधिवेशन पनि अनिर्णित बनाउन लागेको भन्दै अन्य नेत्रीहरुले आपत्ति जनाएका छन् । विद्यार्थीको महाधिवेशनमा समेत आफू निकटलाई नेतृत्वमा ल्याउन प्रचण्ड पक्षले अनेकौं हत्कण्डा अपनाउँदा पनि अधिकांश पदमा अर्का उपमहासचिव जनार्दन शर्मा पक्षका विद्यार्थी नेताहरुले जित हासिल गरेका थिए ।
सोही कारण प्रचण्ड पक्षले लामो समयसम्म अखिल(क्रान्तिकारी)को नेतृत्व चयनका लागि निर्वाचन हुन दिएको थिएन । अन्ततः उमेर हद लगाएर निर्वाचन गरिएको थियो । अहिले महिला संघमा पनि सोही नियति दोहोरिने भयले प्रचण्ड पक्ष सशंकित भएको एक माओवादी नेताले बताए । ती नेताका अनुसार प्रचण्डले बहुमत पदाधिकारी आफू इतरका निर्वाचित हुने भयले महाधिवेशन भाँड्ने दाउमा प्रचण्ड पक्ष लागेको हो ।
यता, प्रचण्ड पक्षका महिला नेत्रीहरुले आफू इतर अरुलाई कुनै हालतमा नेतृत्वमा आउन नदिने अडानमा रहेपछि निर्वाचन प्रक्रिया र सर्वसम्मत दुबै विधिबाट नयाँ कार्यसमिति चयन हुने सम्भावना क्षिण बन्दै गएको छ । प्रचण्ड पक्षको हस्तक्षेपले माओवादी जनयुद्धमा महत्वपूर्ण भूमिका निभाएको महिला संगठनको महाधिवेशन अकर्मण्य बनेको भन्दै पार्टीका महिला नेत्रीहरुले असन्तुष्टि पोखेका छन् ।
प्रतिक्रिया