काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध अभियान थालेको दाबी गरेको थियो । सोही अभियानका क्रममा तत्कालीन सरकारद्वारा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाकी पत्नी आरजु राणा र एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलगायतलाई नियन्त्रणमा लिन प्रयास गरेपछि राजनीतिक समीकरण नै रातारात फेरियो । प्रचण्डको सरकार ढल्यो र नेका–एमाले मिलेर नयाँ गठबन्धन सरकार बन्यो ।
त्यस यता तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा जेल हालिएको घटनाले पनि सत्ता प्रतिस्पर्धालाई थप तिक्त बनाएको थियो । विरोधीलाई मात्र निसाना बनाउने र आफ्नालाई बचाउने गरेको आरोपसँगै केपी ओलीको नेतृत्वको गठबन्धन सरकारलाई ‘भ्रष्ट’ भनेर आलोचना हुन थाल्यो ।
यसै कारण पनि जनस्तरमा प्रचण्डले उठाएको ‘भ्रष्टाचारविरुद्धको एजेन्डा’ व्यापक रूपमा प्रतिध्वनित भयो । स्वतन्त्र अभियानकर्मी, युवा समूह (जस्तै जेनजी) ले समेत राजधानीमा अनियमित स्रोतबाट सम्पत्ति आर्जन गरेका व्यक्तिहरूविरुद्ध प्रदर्शन थाले । यही क्रममा प्रचण्डकै नजिकका नेताहरूका घरहरू समेत निशाना बने ।
प्राप्त जानकारी अनुसार, काठमाडौंका विभिन्न स्थानमा माओवादी नेताहरूका घरमा ढुंगामुढा र क्षतिको घटना भएको छ । प्रचण्डकी छोरीहरू गंगा दाहाल र रेणु दाहालका घरमा आक्रमण भयो । उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्व सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल (प्रचण्डका भाइ) को पेप्सीकोलास्थित घर र उनका छोरा समीर दाहालको बुद्धनगरस्थित घरमा समेत ढुंगामुढा भएको छ ।
त्यस्तै, नेता शक्ति बस्नेत, दिनानाथ शर्मा र उनका परिवारका चार घरहरू, लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा प्रचण्डका पूर्व स्वकीय सचिव जोखबहादुर महरा प्रतापको टोखास्थित घर, पूर्वमन्त्री रेखा शर्माको कीर्तिपुरस्थित घर, माधव सापकोटा, सरल सहयात्री, शरद दुलाल, दीपशिखा र राजन दाहालका घरमा समेत आक्रमण भएको विवरण छ ।
प्रचण्डका पूर्व स्वकीय सचिव रमेश मल्लको अपार्टमेन्टमा भने आक्रमण प्रयास भए पनि ‘अरू धेरैलाई क्षति पुग्ने’ भन्दै रोइकराइ भएपछि हमला रोकिएको बताइन्छ ।
यस विषयमा क्षतिबारे बुझ्न प्रयास गर्दा नेता शक्ति बस्नेत र दिनानाथ शर्मासँग सम्पर्क हुन सकेन । बस्नेतकी श्रीमती तथा माओवादी केन्द्रकी केन्द्रीय नेतृ सत्या पहाडीको फोन पनि बन्द रहेको छ । दिनहुँ घरका भिडियो टिकटकमा राख्दै आएकी सत्याले घटनापछि भने केही पोस्ट गरेकी छैनन् ।
भ्रष्टाचार विरोधको नेतृत्व गरेको माओवादी विरूद्ध समेतयस किसिमको आक्रमणले प्रचण्डको ‘भ्रष्टाचारविरुद्धको एजेन्डालाई जनताले आफ्नै शैलीमा कार्यान्वयन गरेका छन् । विश्लेषकहरू भन्छन्— आफ्नै नेता–स्वकीय सचिव र परिवारजनलाई समेत आक्रोशको लक्ष्य बनाएको यो घटनाले माओवादी केन्द्रले आर्जन गरेको नैतिक धरातल गुमाएको सन्देश दिएको छ ।
प्रतिक्रिया