जेनजी आन्दोलनको सन्देश : हिंसात्मक दमन नै संकटको कारण

शुक्रबार, २७ भदौ २०८२, १६ : ५१

काठमाडौं– समाज निरन्तर परिवर्तनशील छ । हरेक पुस्तासँगै नयाँ चेतना, नयाँ सोच र नयाँ शैली जन्मिन्छ। अहिलेको केन्द्रमा रहेको जेनजी पुस्ता, अर्थात् सन् १९९७ पछि जन्मिएको पुस्ता, सूचना–प्रविधि, सामाजिक सञ्जाल र तीव्र ग्लोबलाइजेशनको वातावरणमा हुर्किएको पुस्ता हो।

यो पुस्ताले मेहनत, धैर्य र अनुशासनलाई मात्र होइन, स्वतन्त्रता, विविधता, समानता र अवसरलाई पनि जीवनको आधार बनाएको छ। मोबाइल र इन्टरनेटसँगै हुर्किएको भएकाले विश्वका हरेक विषय–वस्तुमा जानकारी लिन र आफ्नो रुचिअनुसार अध्ययन गर्न सक्षम छ । यही विशेषताका कारण यो पुस्ताले नेपालको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा नयाँ दृष्टि र गतिशीलता ल्याउने सम्भावना बोकेको छ ।

तर, यिनकै जीवनशैलीमा देखिने अधैर्यता, स्थायित्वप्रतिको उदासीनता र ‘भर्चुअल संसारमा सीमित’ हुने प्रवृत्ति गम्भीर चुनौती पनि बनेको छ । नेपालजस्तो अल्पविकसित मुलुकमा ऊर्जा, रोजगारी र प्राविधिक अवसरको खाँचो झनै ठूलो छ । बारम्बारको राजनीतिक आन्दोलन र व्यवस्था परिवर्तनले अपेक्षित नतिजा दिन नसक्दाका परिणाम जेनजी पुस्ताको आन्दोलनले मुलुकको राजनीतिक, सामाजिक र संस्थागत संरचनालाई हल्लाइदिएको छ । सत्ताले  युवापुस्ताको मागलाई बेवास्ता गर्‍यो । सरकारले आफ्नो नैतिकता, जिम्मेवारी र संवेदनशीलता सबै गुमायो । हिंसात्मक दमन गर्नु नै अहिलेको संकटको मूल कारण हो । 

आन्दोलनकारी जेन्जी पुस्ताले संयमता गुमाए देशभरका सार्वजनिक सम्पती झणभरमै ध्वस्त भए । नेपालमा भएको यो आन्दोलनले संसारलाई यही पाठ सिकाएको छ । राजनीतिक दलहरूले बुझ्नै पर्ने कुरा के हो भने, जेनजी पुस्ता केवल नाराबाजी गर्ने समूह होइन । उनीहरू शिक्षित छन्, सचेत छन् र प्रविधिबाट पोख्त छन् । उनीहरूको आवाजलाई दमनले दबाउन सकिँदैन । बरु संवाद, र सहभागिताबाट मात्र सुल्झाउन सकिन्छ । जेनजी पुस्ताको विद्रोहले सत्ता र समाजलाई समय बदलिएको छ, तपाईं पनि बदलिनुपर्छ भन्ने संन्देश दिएको छ । 

 
शुक्रबार, २७ भदौ २०८२, १६ : ५१

प्रतिक्रिया