जेनजी आन्दोलनले नांगियो माओवादी

‘माओवादी नेताहरुको घरसँगै कार्यकर्ताको सपना पनि जल्यो’

आइतबार, २९ भदौ २०८२, ०९ : २८

काठमाडौं– एक समय ‘त्याग, बलिदान र क्रान्ति’को नाममा सशस्त्र आन्दोलन चलाई नयाँ नेपालको सपना देखाउने माओवादी नेतृत्व आज आफ्नै घर–गाडी जनआक्रोशको निशानामा परेको छ । यसले पार्टीभित्र र बाहिर दुवैबाट उठेको प्रश्न छ, नेताहरूले घर र गाडी किनेको स्रोत किन सार्वजनिक गर्न सक्दैनन् ? त्यसकै परिणामस्वरुप यो अवस्था निम्तिएको भन्दै नेता कार्यकर्ताहरुले प्रश्न र गुनासो गरिरहेका छन् ।

हालै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवास र चितवनको घरमा आगजनी र तोडफोड भयो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाललगायत दर्जनौँ नेताहरूको घरमा तोडफोड, लुटपाट र आगजनी भएका छन् ।

त्यसैगरी रेनु दाहाल, गंगा दाहाल, जीवन आचार्य, रेखा शर्मा, सरल सहयात्री, माधव सापकोटा, राजन दाहाल, शरद दुलाल, विशाल खड्का, जोखबहादुर महरा, युवराज भट्टराई, उमेश यादव, कमल बुढाथोकी, रामनारायण बिडारी, वामदेव क्षेत्रीको घर तथा गाडीसमेत क्षतिग्रस्त बनेका छन् ।

पूर्वलडाकु र घाइतेहरू भन्छन्, ‘सम्पत्ति कमाउनु गलत होइन, तर नेताहरूले घर–जग्गा, गाडी जोडेको स्रोत जनतालाई देखाउनुपर्छ ।’

काठमाडौंबाट घर छोडेर युद्धमा लागेर खुट्टा गुमाएका गंगा तामाङ भन्छन्, ‘हामीले काठमाडौंबाट घर र सुखसुविधा त्यागेर जनयुद्धमा हाम्फाल्यौं तर एकथरिको त काठमाडौंबाटै घर, गाडी र विलासी जीवनका लागि पो रहेछ ।’

जनयुद्धका कलाकार मोहित श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘अति गरेपछि खतिहुँदो रहेछ । घाइते योद्धाहरूको उपचारको पैसा छैन, माओवादी नेताहरूका छोराछोरीको गुस्सी ब्याग, विलासी जीवन, घर र गाडी हुनु विडम्बनापूर्ण हो । हिजो नेकपा (एमाले) र कांग्रेस नेताहरूले पजेरो–प्राडो संस्कृति भित्र्याएको विरोधमा उठेको यो आन्दोलन होइन र ?’ यी भनाइहरूले पार्टीभित्र जनयुद्धका कारण बनेका पीडाहरू पनि उजागर गर्छन ।

पार्टीभित्र ‘जेनजी’ भनिने नयाँ पुस्ताले पनि नेताहरूको ऐयासी जीवनशैली र सम्पत्तिको स्रोतबारे प्रश्न गर्नुपर्ने आवाज बढाइरहेका छन् । विश्लेषकहरूका अनुसार, शान्ति प्रक्रियापछि योद्धाहरूको विचल्ली बनाएको, रोजगारीको ग्यारेन्टी नपाएको, अपांग र घाइतेहरूको पीडा सम्बोधन नगरिएको र नेताहरूको अपारदर्शी सम्पत्तिले आक्रोस बढाएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने भन्छन्,  ‘यो परिस्थिति आउनुमा रगतक‍ो भेल तरेर आएको माओवादी परिवारवाद र सम्पत्तिसँगको सम्बन्धमा अरुभन्दा फरक हुन् नसक्नु र नैतिक प्रश्नमा स्खलित हुनु हो।’ नेताहरूले अब घर–गाडीको स्रोत, आय र सम्पत्तिको विवरण खुलाउने मात्र होइन, बलिदानी कार्यकर्ताहरूको अवस्था सुधार्ने ठोस योजना ल्याउनुपर्ने माग बढेको छ ।

जनयुद्धमा हजारौँको बलिदान र सपना ‘नयाँ नेपाल’ निर्माण गर्ने थियो । नेताहरूले त्यस बलिदानको मर्म बुझेर समग्र जनताको जीवनस्तर सुधार्ने काम नगरेसम्म र पारदर्शिता स्थापना नगरेसम्म माओवादीको नैतिक हैसियत कमजोर हुँदै जाने र जनआक्रोश अझ तीव्र हुँदै जाने संकेत यी घटनाले देखाइरहेका छन् ।

जेनजीले आफ्ना नेताका भव्य बंगलामाथि आक्रमणपछि माओवादीका अधिकांश नेता कार्यकर्ताहरुले नेताहरुको घरसँगै आफ्ना जनयुद्धकालीन सपना पनि जलेको दुखेसो पोखेका छन् ।

 
 
 
 
आइतबार, २९ भदौ २०८२, ०९ : २८

प्रतिक्रिया