काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् ।
आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा ३ विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन् ।
उनले धारणामार्फत् भनेकी छिन्– ‘कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर, त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन ।
अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला । QUIT मैले पार्टी छोडेँ ।
कांग्रेस, एमालेलगायत पार्टीका तेस्रो पुस्ताका नेताहरूले पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यवहार हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’
प्रतिक्रिया