जेनजीको आन्दोलनले अर्थतन्त्र धराशायी

जेनजीको आन्दोलन : निजी र सरकारी संरचना ध्वस्त, मुलुक डेढ दशकपछि धकेलियो

सोमबार, ३० भदौ २०८२, ०९ : ५९

काठमाडौं– राजधानी लगायत मुलुकका विभिन्न स्थानमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडले कुल ग्राहस्थ उत्पादनको आधा हिस्सामा नोक्सानी भएसँगै नेपाल डेढ दशकपछि धकेलिएको छ । भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध र सुशासनलाई पृष्ठभूमि बनाई २०८२ साल भदौ २३ र २४ गते ‘जेनजी’ ले गरेको प्रदर्शनका क्रममा सरकारी र नीजि संरचनामा पुगेको क्षतिले मुलुकको अर्थतन्त्रलाई विपरित गतिमा लगेको हो । 

नीजि र सरकारी सम्पत्तीमा क्षति पुग्दा नीजि क्षेत्रको मनोबलमा धक्का लागेको छ । यो घटनाक्रमसँगै मुलुकमा भित्रिन लागेको एक चौथाई (१/४) प्रत्यक्ष बैदेशिक लगानी (एफ.डि.आई.) को प्रतिबद्धता अब टुटेको छ । हाल भएको क्षति प्राकृतिक तरिकाले नभएकाले अर्थात मानवनिर्मित भएकाले विदेशीले पनि पुर्ननिर्माणमा सहयोग नगरेसँगै विदेशी सहयोग र थप अनुदान नभित्रिने निश्चित छ । 

कम विकशिल राष्ट्रबाट मध्यम आय भएको देशमा स्तरोन्नतीको विषय हाल रोकिएको छ । ‘जेनजी’ ले उठान गरेको विषयबस्तु सकारात्मक भएपनि उनीहरुको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडले मुलुकको अर्थतन्त्रलाई विपरित दिशातर्फ लैजान मद्दत गरिरहेको छ । व्यक्तिगत सम्पत्तिमा भएको तोडफोड र आगजनीले नागरिकमा भय र त्रासको वातावरण श्रृजना भइरहेको छ । 

‘जेनजी’ प्रदर्शन : अर्थतन्त्र कता पुग्यो ?

‘जेनजी’ ले भष्ट्राचार, सामाजिक सञ्जाल प्रतिबन्ध र सुशासनलाई एजेण्डा बनाएर गरेको दुई दिने प्रदर्शनमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण मुलुकले ठुलो क्षति बेहोर्‍यो। कुल ग्राहस्थ उत्पादन (जिडिपी) को आधा भागमा क्षति पुगेको छ । अर्थात ६१ खर्ब रुपैयाँको अर्थतन्त्रको आधा भाग ध्वस्त भएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडका कारण मुलुकको अर्थव्यवस्था डेढ दशक पछि धकेलिएको छ । करदाताको पैसाले निर्माण भएका भौतिक संरचनामाथि आक्रमण हुँदा मुलुकको अर्थतन्त्र पछाडी धकेलिएको हो । नीजि सम्पत्तीमाथि भएको आक्रमणले पनि यो अवस्था श्रृजना हुन पुगेको हो । 

‘जेनजीको प्रदर्शनमा भएको क्षति मानवनिर्मित हो । यो प्राकृतिक विपत्तिले नभएकाले यसको पुर्ननिर्माणमा बैदैशिक सहयोग आउँदैन । एक चौथाई (१/४) प्रत्यक्ष बैदेशिक लगानी प्रतिबद्धता अब नआउने भएको छ ।’, नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले आजको अर्थलाई भने, ‘द्विपक्षिय सहयोग अब कम हुन्छ । कम विकशिल राष्ट्रबाट मध्यम आय भएको देशमा स्तरोन्नतीको विषय हाल त्यत्तिकै रहने भएको छ ।’ 

जेनजीले उठान गरेको भष्ट्राचारमुक्त समाजले थोरै श्रोतको उपलब्धता गर्ला । तर यसले हालको विषयलाई थेग्न सक्दैन । अब सरकारले खर्च कटौतिको अभियान थाल्ने छ । मुख्य करदाताको सम्पत्तीमाथि नै आक्रमण भएपछि श्रोत पहिलेभन्दा खुम्चन सक्दछ । आगामी दिनमा ‘जेनजी’ ले अपेक्षा गरेको उपलब्धी हासिल गर्न मुश्किल पर्न सक्दछ । 

लामो समयदेखि मुलुक फाइनान्सियल एक्सन टास्क फोर्स (एफ.ए.टी.एफ.) को ग्रे लिस्टमा फसेको छ । एसिया प्यासिफिक ग्रुपले औल्याएका ४० कमजोरी सुधार गर्न नसक्दा नेपाल ग्रे लिस्टमा फसेको हो । सरकारले फैसला कार्यान्वयन नभएका मुद्दा जलेर नष्ट भएका छन् । ‘जेनजी’ को प्रदर्शनका क्रममा ती प्रमाण नष्ट भएसँगै कारवाहीको प्रक्रिया अघि बढाउन कठिन पर्न सक्दछ । यसले पनि ग्रे लिस्टबाट बाहिरिन मुश्किल बनाउन सक्दछ । ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडले अर्थतन्त्रमा प्रभाव पारेपनि अघि बढ्ने स्थान उत्तिकै छ । भष्ट्राचार विरोधी र सुशासन कायम गर्ने आन्दोलन भएकाले राज्य पुनर्संरचनामा जान सकिन्छ । 

‘काम–कारवाही प्रविधिमैत्री र डिजिटलाइज नहुँदा जनताले धेरै दुःख पाए भने भष्ट्राचारका घटना पनि धेरै बाहिरिए । अनौतिक काम र नीजि सम्पत्तीको छानविन र कारवाहीले श्रोत जुट्न सक्दछ । यसले पुर्ननिर्माणमा जान मद्दत गर्न सक्दछ ।’, अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले भने, ‘पुर्ननिर्माणमा जाँदा रकम पक्कै खर्च हुन्छ । योसँगै पुर्ननिर्माण हुँदा सिमेन्ट, रड, बालुवा, इट्टा लगायतका निर्माण सामाग्रीको माग धेरै हुन्छ । यसले ती उद्योग चलायमान बनाएसँगै थप रोजगारी श्रृजना गर्दछ । अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्दछ ।’ 

सुधारका लागि नियन्त्रित अर्थतन्त्रको अवधारणा बदल्नुपर्दछ । प्रतिस्पर्धी बजार अर्थतन्त्रमा जान पर्दछ । पुनर्संरचनामा जाँदा न्याय, शिक्षा, रोजगारी, कानूनी प्रशासनको ग्यारेन्टी गर्न सके आगामी दिनमा ‘जेनजी’ प्रदर्शनले उत्पन्न गरेको जस्तो अन्य समस्या भोग्न नपर्ने हुन्छ । आन्तरिक उत्पादन, कृषि उत्पादन लगायतमा जोड दिँदा मुलुकले यी समस्या झेल्नु पर्दैन् । थप पुँजी निर्माणमा लाग्दा अर्थतन्त्रले गति लिन सक्दछ ।   
            
‘जेनजी’ प्रदर्शनमा के के भए ?

‘जेनजी’ ले भष्ट्राचार, सामाजिक सञ्जाल प्रतिबन्ध र सुशासनलाई केन्द्रिविन्दु बनाई गरिएको प्रदर्शनमा सरकारी भवन र नीजि क्षेत्र बढी निशानामा परेको छ । ‘जेनजी’ ले भदौ २३ र २४ गते अर्थात दुई दिन गरेको प्रदर्शनका क्रममा कुल ग्राह्स्थ्य उत्पादन (जिडिपी) को आधा भागमा क्षति पुगेको छ । अर्थात नेपालको ६१ खर्ब रुपैयाँको अर्थतन्त्रको आधा भागमा क्षति पुगेको हो । ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी भवन र कार्यालयले ठुलो क्षति बेहोर्नु पर्‍यो। 

अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ वटा भन्सार कार्यालय ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका छन् । ४ वटा आन्तरिक राजस्व कार्यालय र ४ वटा भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ । दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरामा रहेका आन्तरिक राजस्व कार्यालयहरु पूर्ण रुपमा क्षति भएका छन् । कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीको आन्तरिक राजस्व कार्यालयमा भने आंशिक क्षति पुगेको छ । 

मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरको भन्सार कार्यालयहरुमा पूर्ण क्षति पुगेको छ । विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयमा भने आंशिक क्षति पुगेको हो । ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडका क्रममा पर्यटन तथा होटल क्षेत्र पनि निशानामा परे । काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ, विराटनगर, धनगढी, महोत्तरी, दाङ, तुल्सीपुर लगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका होटलमा आक्रमण बढी केन्द्रित थियो । होटल प्रतिष्ठानमा तोडफोड, आगजनी, लुटपाट भएको छ । 

काठमाडौंस्थित होटल हिल्टनमा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । मुलुकभर भएको क्षतिको आंकडा २५ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । काठमाडौंका हयात होटलमा समेत आगजनी भएको छ । दाङस्थित होटल माला इनमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । मर्मतसम्भार र पुर्ननिर्माण नगरि सञ्चालनमा आउन नसक्ने भएकाले करिब २ हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वमा रोजीरोटीमा प्रत्यक्ष प्रभाव परेको छ । 

‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडको निशानामा नीजि क्षेत्र र यसका व्यवसायी पनि परेका छन् । चौधरी समूहअन्तर्गत संतुगलको सीजीको फ्याक्ट्रीदेखि थापाथलीस्थित सीजी मोटर्सको सोरुम तथा गाडीमा पनि तोडफोड र आगजनी भएको छ । नेपालका अर्बपति विनोद चौधरीको नीजि निवास रविभवनमा पनि लुटपाट भएको छ । विनोद चौधरीका भाइ वसन्त चौधरी र अरुण चौधरीको निवास एवं प्रतिष्ठानमा पनि आक्रमण भएका छन् । 

आईएमई समूहको काठमाडौंस्थित चन्द्रागिरि केबलकारको बेस स्टेसन र नवलपरासीको मौलाकालिका केबलकारमा पनि आक्रमण भएका छन् । भाटभटेनी सुपरमार्केटमा ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बन्यो । ‘जेनजी’ प्रदर्शनका क्रममा भाटभटेनीका मुलुकभरमा १२ वटा स्टोर जलेर नष्ट भए । भाटभटेनीको ९ वटा स्टोरमा तोडफोड र लुटपाट भएका छन् । देशभर भाटभटेनीका २७ वटा सुपरमार्केट सञ्चालनमा रहेका छन् । भाटभटेनी सुपरमार्केटले मात्रै ५० अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको छ । 

थापाथलीको विजनेस पार्कमा रहेको कान्तिपुर मिडिया ग्रुपलगायत धेरै कार्यालयमा प्रदर्शनकारीले लगाएका आगोका कारण पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । क्याप्टेन रामेश्वर थापाको अन्नपूर्ण टावर अनि सिम्रिक एयरको भवन पनि क्षतिग्रस्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका प्रबन्धक शेखर गोल्छाको सीतापाइलास्थित निवासमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको भैंसेपाटीस्थित निवासमा आगजनी भएको छ । उनको चितवनको घरमा समेत तोडफोड भएको छ ।  

         

                
 

 
 
 
 
सोमबार, ३० भदौ २०८२, ०९ : ५९

प्रतिक्रिया