सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

जेनजी आन्दोलनले पतिलाई मन्त्री बनायो, श्रीमतीको भने पुरानै दल मोह

गृहमन्त्री अर्याल पत्नी एमाले कार्यकर्ता, उर्जामन्त्री कुलमान पत्नी राप्रपाकै उपाध्यक्ष

सोमबार, ३० भदौ २०८२, १७ : २३

काठमाडौं – यही भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनले राज्यका तीनै अंगदेखि प्रमुख प्रशासनिक संरचना कब्जामा लिएर आन्दोलन सफल बनेपछि नेपालको राजनीतिक अवस्थामा नै बदलाव आएको छ । 

पुराना दलहरुको अक्षमताको विरुद्धमा सुरु भएको जेनजी आन्दोलनले केपी ओली सरकार विस्थापन गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नवगठित सरकारको तीन मन्त्री नियुक्त भएर कार्यभार सम्हालिसकेका छन् । 

कार्की नेतृत्वको नयाँ सरकारका नवनियुक्त मन्त्रीका श्रीमतीहरु भने पुरानै दलमा रहेका छन् । चार सदस्यीय मन्त्रिमण्डलमा कार्कीसहित गृहमा ओम प्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र उर्जामा कुलमान घिसिङले सोमबार शपथ ग्रहणपछि जिम्मेवारी सम्हालेका छन् ।

यी नवनियुक्त तीन मन्त्री मध्ये घिसिङको श्रीमती दीपा तामाङ राप्रपा धादिङको उपाध्यक्ष हुन्।  धादिङको रुबिभ्याली गाउँपालिकाकी उनी हालसम्म उनी राप्रपा धादिङको उपाध्यक्ष रहेकी छिन् । उनी यसअघि धादिङ जिल्ला कार्यसमिति सदस्य रहेकी थिइन् । 

यस्तै एमाले पृष्ठभूमि भएका अर्का मन्त्री ओमप्रकाश अर्यालको श्रीमती पनि अहिलेसम्म एमालेमा सक्रिय छिन् । वकालत पेशामा रहेकी नवनियुक्त गृहमन्त्री अर्याल पत्नी पुनदेवी महर्जन सर्वोच्च बारमा एमालेको प्यानलबाट कोषाध्यक्षमा निर्वाचित भएकी हुन्। उनी अहिले पनि एमालेमै आबद्ध छिन् ।

त्यसोत नवनियुक्त गृहमन्त्री अर्याल पनि एमाले, साझा विवेकशील हुँदै काठमाडौं महानगर प्रमुख बालेन शाहको सचिवालयमा रहेका थिए । मन्त्री हुनुभन्दा केही दिनअघि मात्रै उनले महानगर प्रमुखको सचिवालयबाट राजीनामा दिएर आएका हुन् ।

जेनजी आन्दोलनले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार विस्थापन गर्दै विद्यमान दलका नेताहरु ज्यान जोगाउन सेनाको ब्यारेकमा बस्नुपर्ने अवस्था निम्तिएको थियो । २३ गतेको आन्दोलनमा अधिक बल प्रयोग भएपछि काठमाडौ उपत्यकामा १७ र बाहिर २ गरी १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछि आन्दोलन उग्र बन्दा नेताका घरदेखि सरकारी र निजी संरचना केही पनि बाँकी रहेनन् ।

 
 
सोमबार, ३० भदौ २०८२, १७ : २३

प्रतिक्रिया