काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रदर्शनकारीहरुलाई ताकेर गोली हान्न आदेश नदिएको खुलाएका छन् । उनले प्रहरीसँग नभएको स्वचालित हतियारबाट प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको भन्दै त्यसको छानबिन गर्नुपर्ने उल्लेख गरेका छन् ।
जेनजी आन्दोलन पछि सेनाको नियन्त्रणमा रहेका ओलीले सार्वजनिक भए लगत्तै शुक्रबार सामाजिक सञ्जालमार्फत संविधान दिवसको अवसरमा एक शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।
निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्,‘गत साता जेन(जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो(आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’
साथै ओलीले जेनजी आन्दोलनमा भएको षड्यन्त्र समयक्रममा उजागर हुने जनाउँदै बेलैमा नबुझेमा देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने भन्दै सचेत गराएका छन् । उनले संविधान स्वतन्त्रताको कवच भएकाले यसको रक्षाका लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया