माओवादी बैठक : सबै पदाधिकारीले राजीनामा दिएर नारायणकाजीलाई कार्यवाहक नेतृत्व दिन माग

आइतबार, ०५ असोज २०८२, २१ : ०५

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनर्गठनका लागि भन्दै ४ बुँदे प्रस्ताव अघि सारेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले केन्द्रीय समिति विघटनसहित ४ बुँदे प्रस्ताव अघि सारेका हुन् । 

जेनजी आन्दोलनको उथलपुथलपछि बसेको पार्टीको पहिलो पदाधिकारी बैठकमा नेतृत्व हस्तान्तरणको प्रस्तावमा प्रमुखताका साथ बहस भएको छ । बैठकमा जेनजी पुस्ताको माग बमोजिम पार्टी पुनर्गठन गर्नुपर्ने प्रसतावको पक्ष र विपक्षमा बहस केन्द्रित भएको हो ।

माओवादीका एक पदाधिकारीका अनुसार, बहुसंख्यक नेताहरुले विशेष महाधिवेशनको प्रस्तावमा सहमत भएपनि जेनजी आन्दोलनको एजेण्डालाई पार्टीमा लागू गर्न नसकिने मत व्यक्त गरेका छन् ।  २३ सदस्यीय पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, र उपमहासचिवद्धय गिरिराजमणि पोखरेल र जनार्दन शर्माले भने नेतृत्व परिवर्तनसहित जेनजी पुस्ताको भावना अनुरुप पार्टीलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिए ।  अन्य अधिकांश पदाधिकारीले पार्टीमा अझै प्रचण्डको विकल्प खोज्न नहुने धारणा व्यक्त गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीमा नयाँ पुस्ताको भावना समेटिने गरी पुनर्गठन आवश्यक रहेको बताए । उनले पार्टी कठिन अवस्थामा आइपुगेको बताउँदै नेतृत्व हस्तान्तरणसहित पार्टी नयाँ शिराबाट रुपान्तरण नगरिए अब अघि बढ्न नसक्ने प्रष्ट पारे ।

अर्का उपमहासचिव पोखरेलले पनि पार्टी पुरानै तवरले अघि बढ्न नसक्ने धारणा व्यक्त गरेका थिए । उनले पनि रुपान्तरणसहित नयाँ पुस्ताको भावना समेट्ने पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उपमहासचिव शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारीले राजीनामा दिँदै महाधिवेशनसम्म वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कार्यभार दिनुपर्ने र त्यसपछि नयाँ पुस्ताको नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने प्रस्ताव समेत राखेको छन् । 

यी बाहेक अधिकांश पदाधिकारीले तत्काल नेतृत्वको विकल्प खोज्न नहुने धारणा व्यक्त गरेका थिए । उनीहरुले पार्टीको नेतृत्व आन्दोलनले निर्माण गरेको बताउँदै तत्काल नेतृत्वले राजीनामा दिन नहुने बताएका थिए । जेनजी आन्दोलनकै आधारमा नेतृत्व परिवर्तनको बहस उठाउनु उपयुक्त नहुने भन्दै उनीहरुले पार्टीमा प्रचण्डको आवश्यकता रहेको जिकिर गर्दै तत्काल विकल्प खोज्ने कार्य अस्वीकार्य रहेको बताएका थिए ।

आइतबार, ०५ असोज २०८२, २१ : ०५

प्रतिक्रिया