विमान दुर्घटनामा ज्यान गुमाएकालाई १० करोड अमेरिकी डलर

शुक्रबार, २० असार २०७६, १२ : ०२

एजेन्सी – बोइङले ७३७ म्याक्स विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई  १० करोड डलर दिने भएको छ । कम्पनीले स्थानीय सरकार र गैरसरकारी संस्थाको माध्यमबाट दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उक्त रकम प्रदान गर्ने बताएको हो ।

बोइङको यो कदमलाई दुर्घटनापछि सर्वसाधारणमा कम्पनीको छवि सुधारको रूपमा हेरिएको छ । कम्पनीको ७३७ म्याक्स विमान इन्डोनेशिया र इथियोपियामा दुर्घटनापछि अहिले सो मोडलका विमानको उडानमा रोक लगाइएको छ । ५ महीनाको अन्तरमा भएका दुई दुर्घटनामा परी ३४६ जनाको ज्यान गएको थियो । कम्पनीविरुद्ध १०० मृतकका परिवारले मुद्दा पनि दायर गरेका थिए । बोइङका प्रवक्ताले अहिले दिन लागिएको सहयोग उक्त मुद्दासँग सम्बन्धित नरहेको बताएका छन् ।

अहिले दिन लागेको सहयोग प्रभावित समुदायको जीवनयापनको खर्च र आर्थिक विकासका लागि प्रयोग गरिने बोइङले बताएको छ । कम्पनीले कुन संस्थाले यो रकम पाउँछ भन्ने विषयमा भने खुलाएको छैन ।

शुक्रबार, २० असार २०७६, १२ : ०२

प्रतिक्रिया