काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल ल्याएपछि विद्यमान दलहरुभित्र नेतृत्व परिवर्तनको विषय तिव्रताका साथ उठेको छ । वामपंथीदेखि प्रजातान्त्रिक दलहरुमा समेत नेतृत्व परिवर्तन र पुस्तान्तरणका पक्षमा पेचिलो ढंगले बहस सुरु भएको छ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कमिटी भंग गर्ने प्रस्ताव आज(बुधबार) बसेको स्थायी समिति बैठकले पारित गरेको छ । अब माओवादीको केन्द्रीय समिति भंग गरि महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिनेछ । अन्तिम केन्द्रीय समिति बैठक भोलि(बिहीबार) बोलाइएको छ । त्यही बैठकले मौजुदा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने बताइएको छ ।
उता, प्रचण्डका पूर्व युद्धकालीन सारथि डा. बाबुराम भट्टराईले पनि आफ्नो दलको केन्द्रीय कमिटी भंग गर्दै आफूले पनि पार्टी अध्यक्ष पद परित्याग गरेको घोषणा गरेका छन् । पूर्ववत पार्टीको स्थायी समिति बैठक बसेको दिन आजै बसेको बाबुरामको दल नेसपा(नयाँ शक्ति)ले पार्टीको केन्द्रीय कमिटी भंग गर्दै उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको हो । यसअघि गत माघमा सम्पन्न पार्टीको प्रथम महाधिवेशनबाट बाबुराम पार्टी अध्यक्षमा निर्वाचित भएका थिए ।
उता, आफ्नै पूर्वसहकर्मी प्रचण्ड भने विगत ३६ वर्षदेखि पार्टी नेतृत्वमा छन् । हरेक पटक स्वघोषित अध्यक्ष बन्दै आएका उनले आफूविरुद्ध प्रश्न उठाउनेलाई पार्टीबाट लखेट्दै आएका छन् । पछिल्लो समय एक वर्ष नहुँदै महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका बाबुरामले पद त्यागेर पूर्वसहकर्मी प्रचण्डलाई नैतिकरुपमा सवक सिकाउन खोजेको माओवादी वृत्तमा चर्चा छ ।
प्रतिक्रिया