भक्तपुर– काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापनाको माग राखेर अगाडि बढ्ने बताएका छन् । भक्तपुरस्थित गुण्डुमा बिहीबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।
‘देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अगाडि बढ्ने छ । अरू पार्टीहरू पनि यही बाटोमा अगाडि बढ्ने छन्’, उनले भने ।
एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गरे ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरुको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताए । “यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ । लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनुपर्छ’’, उनले भने, “सरकारले यसका लागि सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्छ ।’’
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा समस्या उत्पन्न भएका बेला देशभित्रै एकता र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुने धारणा राखे ।
कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका इञ्चार्ज डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतले लोकतन्त्र र मुलुकको रक्षाका लागि एमालेलाई एकताबद्ध र बलियो शक्ति बनाउनुपर्ने बताएका थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो ।
प्रतिक्रिया