नेतृत्व हस्तान्तरण गर्नैपर्छ : उषाकिरण तिम्सेना (भिडियो)

शनिबार, २५ असोज २०८२, ०७ : ३३

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेतृत्व पुस्तान्तरण र राजनीतिक पारदर्शिताको आवश्यकता रहेको बताएकी छन् । उनले सत्ता र शक्तिलाई स्थायी रूपमा बुझ्नु गलत भन्दै “नेतृत्व हस्तान्तरणको समय आएको” स्पष्ट सन्देश दिएकी छिन् ।

हालै २८ जना युवाले पुरानो पुस्ताले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गर्दै संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए, जसमा तिम्सेना पनि सहभागी थिइन् ।

डिजी भिजनमा विराज थापासँगको सम्वादमा बोल्दै तिम्सेनाले भदौ २३ र २४ को “राजनीतिक विस्फोट” लाई स्मरण गरिन् । उनले भनिन्, “हामी एकैछिनमा त्यहाँ पुगेका होइनौं, यसको पछाडि लामो राजनीतिक प्रक्रिया जोडिएको छ।” उनका अनुसार, केही नेताहरूले र परिवारका स्वार्थका लागि गणतन्त्रको दुरुपयोग गरेकाले असन्तुष्टि चरममा पुगेको हो ।

तिम्सेनाले एमाले, माओवादी केन्द्र र कांग्रेसबीचको राजनीतिक सम्बन्धबारे पनि प्रश्न उठाइन् । उनले भनिन्, “एमाले र माओवादी केन्द्रको मुद्दा र कार्यदिशा एउटै हुन सक्छ, तर नेपाली कांग्रेससँग त्यो सम्भव छैन । एउटासँग निर्वाचन लड्ने, अर्कासँग गठबन्धन गर्ने, संसदका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अभ्यास जनादेशको अपमान हो ।”

२८ जनाको वक्तव्यबारे उनले भनिन्, “यो हाम्रो समाजको वास्तविक स्वर हो । सत्ता र शक्तिको निरन्तरता होइन, जवाफदेही परिवर्तन चाहिएको हो ।”

पञ्चायतकालीन आन्दोलनलाई स्मरण गर्दै तिमल्सिनाले भनिन, “त्यो बेला हाम्रो नेतृत्वले विकल्प खोज्यो, अहिले विकल्प खोज्ने नेताको विकल्प छैन भन्नु बेइमानी हो ।”

राजनीतिक दलभित्र पारदर्शिताको माग गर्दै उनले माओवादी केन्द्रतर्फ पनि औंला ठड्याइन । “आफ्नै पार्टीका केन्द्रीय समितिमा कति सदस्य छन् भन्ने कुरा स्वयम् अध्यक्ष प्रचण्डलाई पनि थाहा छैन,” भन्दै उनले संगठनको अस्पष्ट संरचनालाई ब्यंग्य गरिन ।

भ्रष्टाचारविरुद्ध पनि उनले भनिन, “कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाले सादगीका साथ जीवन बिताए, भ्रष्टाचार गरेनन् । अहिलेका नेताहरू किन त्यसबाट टाढा भए ?”

संसद विघटन, गठबन्धन र सत्ताको बदलिँदो समीकरणप्रति असन्तोष हो भने, “संसद विघटन हुँदा कोही सडकमा किन  आएनन् रु”

तिम्सेनाले जोड दिइन, “गणतन्त्र सामान्य जनताको बलिदानबाट आएको हो । त्यसको मर्म संरक्षण गर्न पारदर्शी र जवाफदेही नेतृत्व अब अपरिहार्य छ ।”

 

शनिबार, २५ असोज २०८२, ०७ : ३३

प्रतिक्रिया