काठमाडौं– नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्टी एकता तयारीको विपक्षमा उभिएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बसिरहेको बेला भारतमा रहेका उनले कुबेलाको सहनाई नबजाऔं भन्दै पार्टी एकता गर्ने तयारीप्रति असहमति प्रकट गरेका हुन् ।
पार्टी बैठक चलिरहेका बेला नेता खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका छन् । खनालले सचिवालय बैठकलाई पठाएको पत्रमा जेनजी आन्दोलनपछिको राजनीति निर्वाचनतिर केन्द्रित हुँदै गएको बताएका छन् ।
‘युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ’, खनालले पठाएको पत्रमा उल्लेख छ ।
साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।
‘तपाईँ हामी देखिरहेका छौँ । हरेक साना ठुला पार्टीहरूमा र खुद जेन्जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ’, खनालले भनेका छन् । उनले पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग भन्दै फगत पुस्तावादको माग गात्र नभएको बताएका छन् ।

प्रतिक्रिया